एजेन्सी, २६ माघ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुललाई ४-१ गोलले पराजित गर्दै यो सिजनको उपाधि होडमा आफ्नो बलियो उपस्थिति प्रस्तुत गरेको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोलले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा गुन्डोगनले ४९ मिनेटमा गोल गरेर सिटीलाई अग्रता दिलाए । लिभरपुलका लागि मोहमद सलाहले ६३ मिनेटमा पेनाल्टीमार्फत गोल फर्कायो ।
खेलको ७३ मिनेटमा गुन्डोगनले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । ७६ मिनेटमा स्टर्लिङ र ८३ मिनेटमा फोडेनले गोल गरेपछि सिटी फराकिलो अन्तरको जिततर्फ अग्रसर भएको थियो।
यस्तै, लिगको अन्य खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई २-० र चेल्सीले सेफिल्ड युनाइटेडलाई २-१ गोलले पराजित गरेका छन् । लिगको अंक तालिकामा शीर्ष स्थानको सिटीले २२ खेलबाट ५० अंक जोडेको छ ।
दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २३ खेलबाट ४५ अंक रहेको छ । तेस्रो स्थानको लेस्टरको ४३ अंक छ भने लिभरपुल ४० अंक जोडेर चौथो स्थानमा छ ।
प्रतिक्रिया