काठमाडौं, २८ माघ । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।
यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ ।
कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।
ट्राफिक प्रहरीका सबै जनशक्ति सडकमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिहानदेखि नै जाम सुरु हुन थालेको भएको बताए । जुलुस सकिएर सभामा परिणत भएपछि भने यातायात आवागमन केही सहज हुन सक्ने उनको अनुमान छ ।
ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भने, ‘ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो, ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।’
यस्तो छ जुलुसको रुट
विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने प्रचण्ड–माधव समूहको संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छन् ।
पुल्चोकबाट निस्कने जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिनेछ ।
त्रिपुरेश्वरबाट निस्कने जुलुस पनि सुन्धारा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।
केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।
जमलबाट निस्कने जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्ध शालिक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ ।
प्रदर्शनीमार्गमा यसअघिको जस्तै ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क-भद्रकाली सडकखण्डमा मञ्च निर्माण गरिएको छ ।
प्रतिक्रिया