काठमाडौं, २९ माघ । रणनीतिक मोर्चामा आबद्ध प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दै छन् ।
मोर्चाले आज मध्याह्न काठमाडौंको कमलादीमा घोषणासभा गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ले जानकारी दिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै उनले संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएको बताए । ‘अहिलेको संकट व्यक्ति विशेषको कारणले मात्रै होइन, सरकार असफल त हुँदै हो सरकार मात्रै पनि असफल होइन, यो व्यवस्था पनि असफल हो र यो संविधान पनि असफल हो,’ कँडेलले भने, ‘अबको विकल्प भनेको संघीय जनगणतन्त्र हो । त्यो प्राप्त गर्न सम्पूर्ण राष्ट्रवादीहरु, देशभक्तहरु, परिवर्तनकारी पक्षहरु सबै एकताबद्ध भएर नयाँ सरकारको अवधारणासहित जानुपर्छ ।’
उनले भने, ‘कतिपयले संसद पुनःस्थापना हुनुपर्छ भनेका छन्, कतिपयले ताजा जनादेशका लागि चुनावमै जानुपर्छ भनेका छन्, कतिपयले अब राजा आउनुपर्छ भनेका छन्, तर यी कुनै पनि कुराले देशलाई निकास दिँदैन ।’
मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव समूह, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल आबद्ध छन् ।
प्रतिक्रिया