मुखको टेप खोलेर ‘बोल्न पाइन्छ’ भन्दै राष्ट्रपति भण्डारीबारे दिएको अभिव्यक्तिमाथि स्पष्टीकरण माग्न प्रहरीले बोलायो झाँक्रीलाई

मुखको टेप खोलेर ‘बोल्न पाइन्छ’ भन्दै राष्ट्रपति भण्डारीबारे दिएको अभिव्यक्तिमाथि स्पष्टीकरण माग्न प्रहरीले बोलायो झाँक्रीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । दाहाल-नेपाल गुटको नेपाल कम्युनिष्ट पार्टीले बुधबार आयोजना गरेको शक्ति प्रदर्शन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बिहीबार बिहान १० बजे बोलाइएको बताए ।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् । उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

मदन भण्डारीको ह’त्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । ‘मदन भण्डारीको ह’त्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन् ।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो । झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र नै बुझाइएको थियो ।

झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन् । बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् ।

मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ । हामीले स्थापना गरेको लोकतन्त्रमा बोल्न पाइन्छ भन्दै उनले जोशिलो भाषण गरेकी थिइन् ।