साढे ५ घण्टापछि रिहा भएकी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया

साढे ५ घण्टापछि रिहा भएकी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई साढे ५ घण्टापछि निःशर्त रिहा गरेको छ ।

१६ माघमा गोरखामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर उनलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । उनलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो ।

प्रहरीले उनसँग प्रहरीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो । ‘राष्ट्रपति संस्थाप्रति सम्मान छ किनकि हाम्रो आन्दोलन रगत पसिनाले स्थापित गरेको संस्था हो’ झाँक्रीले भनिन्, त्यहाँ पुग्ने पात्रहरूको क्रियाकलापको न आलोचना गरिएको छ, यसमा पश्चाताप गर्नुपर्ने केही छैन ।’

प्रहरीले उनीसँग सोधपुछ गरिरहँदा पक्राउको चौतर्फी विरोध भइरहेको थियो भने प्रचण्ड–माधव समूह सम्बद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको छ ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाले पनि झाँक्रीलाई निःशर्त रिहा गरिएको बताए । ‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान हिजो, आज र भोलि उत्तिकै छ । मैले संविधान प्रदत्त वाक् स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग मात्र गरेको हुँ भन्नुभयो’ उनले अनलाइनखबरसँग भने, ‘त्यही आधारमा उहाँको श्रीमानको जिम्मामा छाडियो ।’

हिरासतबाट रिहा भएपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दु’व्य’र्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।

उनले अघि भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’