साना–साना खुशीको अपेक्षा

साना–साना खुशीको अपेक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३ फागुन । कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमान्बाट ठूलो सहयोगको अपेक्षा गर्नुभएको छैन । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमान्ले साना–साना काममा सघाइदिए पुग्छ । उहाँलाई बच्चा विद्यालय पठाउन तयार गरिदिने, बच्चालाई खाना खुवाइदिए पनि खुशी मिल्थ्यो । “म घरको कामले थाकेकी हुन्छु । म पनि जागीर गर्छु, श्रीमान् पनि जागीरे हुनुहुन्छ, तर मैले घरको काम पनि सम्हाल्नुपर्छ”, शुभेच्छाले भन्नुभयो, “अफिसबाट फर्केपछि घरको काम मिलेर गर्न पाए कति खुशी मिल्थ्यो तर उहाँ केही गर्नुहुन्न । मलाई कहिलेकाहीँ बच्चाको काम सघाएदिए पनि खुशी मिल्छ ।”

शुभेच्छाका श्रीमान् मनबहादुर मगरलाई घरको काम गर्न लाज लाग्छ । “कहिलेकाहीँ श्रीमती थाकेको देख्दा दया लाग्छ तर काम गरेमा छिमेकीले कुरा काट्छन्”, मनबहादुरले भन्नुभयो, “म भान्सामा खाना पकाउने काममा सघाउथेँ, एकदिन पल्लो घरका काकाले श्रीमतीको नोकर बनेर बसेको भने अनि चटक्क छोडेँ । चाहेर पनि सघाउन मन लाग्दैन ।” जानकी–७ की तीर्था चौधरीलाई पनि घरमा गरिने काममा पुरुषको साथ आवश्यक लाग्छ । “महिला एक्लै काममा हुन्छन् । दिनभरि काम गरेर थाक्छन्”, तीर्थाले भन्नुभयो, “कहिलेकाहीँ पुरुषले लुगा मिलाइदिए, सरसफाइमा सघाए हुन्थ्योजस्तो लाग्छ । आफ्ना लुगा आफैँ धुने, मिलाउने काम गरे पनि सहयोग पुग्छ ।”

घर श्रीमान्श्रीमती दुवैको हो । घरको काम पनि दुवैको जिम्मेवारी हो तर हाम्रो समाजमा घरको काममा सघाउने पुरुष कमै भेटिन्छन् । जानकीकै आशु चौधरीको पनि श्रीमान्सँग धेरै आशा छैन । “ठूलो सहयोग चाहिएन, तरकारी बारीबाट टिपिदिए, केलाइदिए, पानी बोकिदिए पनि म त खुशी हुन्छु”, उहाँ भन्नुहुन्छ, “पुरुषले पनि सरसफाइको काम गर्नुपर्छ । घर दुवै मिलेर चलाउनुपर्छ भनी पुरुषलाई बुझाउन आवश्यक छ ।”

जानकी–७ का वडा सदस्य वीरमा विक समाजमा घरको कामको बोझ महिलालाई बढी हुनुले पनि हिंसा बढाएको बताउनुहुन्छ । “महिला दिनभरि थाकेका हुन्छन् अझ पुरुषले मदिरा खाएर कुटपिट गर्छन्”, विकले भन्नुभयो, “महिलाको श्रमको मूल्य छैन । त्यसमाथि पुरुषले गर्ने हिंसाका कारण महिलाको विकास हुन सकेको छैन ।”

शिक्षिका रेश्मा भट्ट घरको कामबाट फुर्सद नपाउने भएर महिलाले सामाजिक काममा समय दिन कठिन हुने गरेको बताउनुहुन्छ । “कलिलैमा विवाह गरिदिन्छन्, भविष्य बनाउने समय सन्तान उत्पादन, घरधन्दामा बित्छ”, उहाँ भन्नुहुन्छ, “जसले श्रीमान्को साथ पाए, उनीहरु सफल भएका उदाहरण पनि छन् । जसले साथ पाएनन् उनीहरु घरबाट उम्कन पाउँदैनन् ।”

समाजशास्त्री शिवचरण चौधरी घरायसी कामको जिम्मेवारी महिलालाई मात्र दिइनु गलत भएको बताउनुहुन्छ । “हाम्रो समाजले छोरीलाई संस्कारी हुनुपर्छ, लजालु हुनुपर्छ भन्ने सिकाएको छ तर छोरा पनि संस्कारी हुनुपर्छ, घरको काममा सघाउनुपर्छ भनी सिकाएको छैन”, उहाँले भन्नुभयो, “छोरालाई पनि संस्कार र जिम्मेवारी सिकाउन आवश्यक छ । लैङ्गिक समानता र समाज विकासका लागि छोरालाई पनि जिम्मेवार बनाउन अभिभावकले ध्यान दिनुपर्छ ।”

टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का सहयोगी पुरुष पाएका महिलाको पोषण अवस्थासमेत राम्रो रहेको बताउनुहुन्छ । “श्रीमान् र परिवार सहयोगी भएका कामकाजी या गृहणी महिलाको स्वास्थ्य अवस्था राम्रो छ”, खड्का भन्नुहुन्छ, “कामको बोझ बढी भएका महिलाले खानपानमा ध्यान दिन पाउँदैनन् । उनीहरु शारीरिक र मानसिकरूपमा कमजोर भएर उपचारमा आउने गरेका छन् ।” स्टाफ नर्स खड्का महिलाको स्वास्थ्यमा ध्यान नदिँदा उपचारमा धेरै रकम खर्च हुने गरेकाले महिलाको स्वास्थ्यप्रति परिवार सचेत बन्न आवश्यक रहेको बताउनुहुन्छ । “धेरै कामको बोझ बोकिरहेका महिलामा मानसिक समस्यासमेत देखिन थालेको छ”, उहाँ भन्नुहुन्छ, “यसले भविष्यमा परिवारमै समस्या निम्तिन सक्छ । परिवारको खुशीका लागि सबैले सबै कामको जिम्मेवारी लिनुपर्छ ।” -रासस