कास्की, ३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको ऐतिहासिक तथा धार्मिक इशानेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज यस मन्दिर परिसरमा धर्मशाला भवनको शिलान्यास गर्दै यस मन्दिरको विशेषताका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले माधव र प्रचण्डले सत्ता र कुर्चीका लागि आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई अविश्वासको मत प्रस्ताव गर्दै हटाउने खेलले गर्दा संसद् विघटन हुन पुगेको बताउनुभयो । देश र जनताको लागि काम गरिरहेको, देश समृद्धितर्फ अघि बढाउँदै गएको प्रधानमन्त्रीलाई हटाउने खेलले गर्दा देश समृद्ध बनाउन बाधा नपुगोस् भनेर संसद् विघटन गरेर निर्वाचन गर्न लागेको र निर्वाचनले नै राजनीतिक स्थिरता, सरकारको स्थिरता र देश समृद्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘यसका लागि आगामी हुने निर्वाचन हुन जरुरी रहेको र निर्वाचन निर्धारित मितिमै हुने छ ।’’
त्यस्तै, संसद विघटन विरुद्धमा सर्वोच्चमा मुद्धा परिसकेको र सर्वोच्चलाई स्वतन्त्र रुपमा काम गर्न नदिई धम्की दिने क्रियाकलाप गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।
मन्दिर परिसरमा निर्माण हुन लागेको धर्मशाला भवनको लागि प्रदेश सरकारले रु ५० लाख विनियोजित गरेको छ । यस बजेटले यस आर्थिक वर्षभित्रै सक्ने गरी आठ वटा कोठाको एक तले भवन निर्माण हुने इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका कोषाध्यक्ष गजेन्द्रराज घिमिरेले बताउनुभयो । प्रदेशले आगामी आवमा पनि बजेट उपलब्ध गराउने र सोही रकमले भवन थप गर्दै जाने उहाँको भनाइ छ ।
यहाँ प्रत्येक वर्षको शिव रात्रिमा सन्तान प्राप्तिका लागि एक हजार ५०० देखि दुई हजार जनाले ठाडो बत्ती बाल्ने गरेको समितिले जनाएको छ । समितिका अनुसार यहाँ सतीदेवीको दाइने तिघ्रा पतन भएको श्रीस्वास्थानी ब्रत कथामा उल्लेख छ । यसलाई इशानेश्वर महादेवबाट र सन्तानेश्वर महादेवको रुपबाट परिचित छ । यस मन्दिरमा सन्तान नभएका महिलाले शिवरात्रिमा रातभरी ठाडो बत्ती बालेर बसेमा सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । -रासस
प्रतिक्रिया