सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

विसं २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको बरुणेश्वर–४ मा जन्मनुभएका दाहाल विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । स्व दाहालले कांग्रेसद्वारा सञ्चालित विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आउनुभएको थियो । दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । दाहालको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।रासस