तीन वनमा आगलागीः स्थानीयवासी चिन्तित

तीन वनमा आगलागीः स्थानीयवासी चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङको गलकोटका तीन सामुदायिक वनमा आगलागी भएको छ । आज दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो । आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन् ।

गलकोट नगरपालिका–५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताउनुभयो । भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको छ । आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले जानकारी दिनुभयो । दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि अहिले आगो नियन्त्रणबाहिर रहेको उहाँले बताउनुभयो ।

सोही आगो छिमेकी वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायिक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिनुभयो ।

आगोको कारण दानसिंङ सामुदायिक वनसँगै जोडिएको गगनपानी सामुदायिक वन गलकोट नगरपालिका–५ को झण्डै पाँच हेक्टर क्षेत्रफल वन क्षेत्रमा पनि क्षति भएको बताइएको छ । ठूलाचौर महिला सामुदायिक वन, दानसिङडाँडा सामुदायिक वन सिमाना जोडिएका वन हुन् । आगो अहिले पनि जङ्गलमा फैलिरहेको छ । आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानीयवासी चिन्तित भएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिनुभयो ।

आगो निभाउन स्थानीयवासी र प्रहरीको सक्रियता रहेको वडाध्यक्ष थापाले बताउनुभयो । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् । साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिनुभयो । आगलागी हुँदा करोडौँको क्षति भएको छ ।