नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्भित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताउनुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा आज उहाँले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसद्मा भूमिका खेल्ने बताउनुभयो ।
“अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”, उहाँले भन्नुभयो । उहाँले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिनुभयो ।
कांग्रेस सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले शान्ति र अहिंसाबाट भएको परिवर्तन दिगो हुने धारणा राख्ने निधि सादा जीवन उच्च विचारका व्यक्ति भएको बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने गरी काम गर्न र आफ्नो सेवालाई देशव्यापी बनाउन अस्पताललाई सुझाव दिनुभयो ।
पं दीनबन्धु पोखरेलले राजनीतिमा सेवाको भावनालाई जोड्ने निधि गान्धीवादी नेता भएको उल्लेख गर्नुभयो । उक्त भवन निर्माणका लागि लगाइएको महायज्ञमा पण्डित पोखरेलले भागवत् पाठ गर्नुभएको थियो ।
पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, सांसद जिपछिरिङ लामा र उमेश श्रेष्ठ, गणेशमानसिंह स्मृति अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, बिपी स्मृति अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसी, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाललगायतले महेन्द्रनारायणका नाममा स्थापित अस्पतालले मधेश र पहाडलाई जोड्ने काम गरेको बताउनुभयो ।
नाफाभन्दा सेवालाई ध्यान दिएर स्थापित उक्त अस्पताल १०० श्ययाको छ । आफ्नो सेवालाई आगामी दिनमा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालका अध्यक्ष कृष्णबहादुर थापा मगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया