बादी समुदायका माग सम्बोधन गर्ने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

बादी समुदायका माग सम्बोधन गर्ने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका नागरिकले उठाएका मागहरु पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
खेतीयोग्य जमीन र आवासको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा धर्ना दिँदै आएका सो समुदायको आज मागपत्र बुझ्दै उहाँले सरकारबाट शिक्षा, स्वास्थ्य, खानेपानीसहित आयआर्जन तथा अन्य आधारभूत आवश्यकतामा उचित सम्बोधन हुन नसेकको स्वीकार गर्नुभयो ।

“हामीले चाहेर पनि बादी र राउटे समुदायलाई यस विषयमा सम्बोधन गर्न सकेका छैनौँ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “प्रदेश सरकारलाई भूमि दिने अधिकार छैन । प्रदेश सरकार आफैँलाई घर निर्माण गर्न जमीन छैन । अहिले सङ्घ सरकारका पुराना संरचनामा बसेर काम चलाएका छौँ ।”
उहाँले थप्नुभयो, “बादीका समस्याको समाधानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी नेपाल सरकारलाई अनुरोध गरिनेछ ।” भूमिहीन, सुकुम्बासीलाई जग्गा दिन हालै नेपाल सरकारले देशैभरि भूमि समस्या समाधान आयोगका कार्यालय खोलेर काम शुरु गरेकाले जतिसक्दो छिटो त्यहाँ पुगेर आफ्नो दर्ता गर्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो ।

मागपत्र लिएर पुग्नुभएकी बादी महिला भूमि बादीले जीवनमा आउने हरेक समस्याको प्रभाव महिला र बालबालिकाले बढी खेप्नुपरेको दुखेसो गर्नुभयो । आन्दोलनकर्ता विष्णुबहादुर बादीले पुख्यौली पेशाले आज आफूहरुलाई सुकुम्बासी बनाएको पीडा पोख्नुभयो । “हामी मादल, जाल, बल्छी, सुल्पा, चिलिम बनाउने, माछा मार्ने, बेच्ने, गाउँ घुम्दै माग्दै आफू र आफ्नो परिवारको जीवनयापन गर्दै आएका थियौँ,” विष्णुले भन्नुभयो, “तर आज त्यो सबै खोसिएको छ ।”
उक्त समुदायले परिवार सङ्ख्याका आधारमा घडेरी, घर र गरिखाने कृषियोग्य जमीन (पाँच परिवार सङ्ख्या बराबर १५ कट्ठा), सामाजिक, सांस्कृतिक कलाको संरक्षण तथा प्रवद्र्धन, आत्मनिर्भरताका लागि सीप र इच्छानुसारको व्यावसायिक तालीम, भेदभावरहित शिक्षा र उच्च शिक्षामा विशेष सहुलियत, सरकारी रोजगारीका लागि विशेष कोटाको व्यवस्था, निःशुल्क स्वास्थ्यलगायतका सातबुँदे माग गर्दै आएको छ ।रासस