प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा आज जानकारी लिनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारी, सभाकक्षको अवस्थालगायतका विषयमा आवश्यक जानकारी लिनुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ । सो अवसरमा सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताउनुभयो ।

सर्वोच्च अदालतको फैसलालाई जनप्रतिनिधिमूलक संस्थाको सर्वोच्च निकायको तर्फबाट खुशी र गौरवको विषय भन्दै उहाँले संसद् अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसुस भए पनि अहिले सबैमा उत्साह जागेको उल्लेख गर्नुभयो ।
सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, सङ्घीय संसद् सचिवालयका कर्मचारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म सङ्घीय संसद्का सबै सांसद तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारीसमेत गरिएको छ । रासस

प्रतिक्रिया