सुन्तलामा असिनापानी र रोगको असर

सुन्तलामा असिनापानी र रोगको असर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्ष प्रतिहेक्टर नौ दशमलव १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष प्रतिहेक्टर नौ दशमलव ५८ टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले सुन्तलामा रोग लागेका कारण यस वर्ष उत्पादनमा केही कमी देखिएको बताउनुभयो । चितवनमा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष उत्पादन भएको क्षेत्रफल भने ११० हेक्टर रहेको त्रिपाठीले जानकारी दिनुभयो । एक सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष प्रतिहेक्टर ९.१३ टन अर्थात् एक हजार चार दशमलव तीन टन सुन्तला उत्पादन भएको छ ।

गत वर्ष पनि ११० क्षेत्रफलमै सुन्तला उत्पादन भएको थियो । सो क्षेत्रफलमा गत वर्ष प्रतिहेक्टर ९.५८ टन अर्थात् एक हजार ५४ दशमलव नौ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष कविलासमा गरिएको सुन्तला खेतीलाई असिनापानीले नोक्सान पुर्याउनुका साथै विभिन्न रोग लागेका कारण उत्पादनमा कमी आएको त्रिपाठीले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष किसानले सुन्तालाको बजार मूल्य राम्रो पाएका छन् । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तला खेती गरिन्छ । इच्छाकामना–३ र ५ मा अत्यधिक सुन्तला उत्पादन हुन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डीभन्ज्याङ र भरतपुर–२९ कविलासमा धेरै सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाका विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन

भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल (यु–टेक) कलेजमा दिगो इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन भएको छ ।

सामाजिक समस्यालाई इञ्जिनीयरिङ र प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अन्तर्राष्ट्रिय ‘ई–कन्फरेन्स’ गरिएको हो । यु–टेक कलेजका प्राचार्य प्रा डा केशवदत्त अवस्थीले ई–कन्फरेन्सले चितवन र नवलपुर क्षेत्रको शैक्षिकस्तरलाई उच्च तहमा पुर्याएको बताउनुभयो । कलेजले इञ्जिनीयरिङ विषयमा स्नातकोत्तर तहमा अध्ययन गराइरहेको भन्दै अवस्थीले नयाँ–नयाँ खोज र अनुसन्धानसँग रहेका स्वदेश तथा विदेशका इञ्जिनीयरले कार्यपत्र प्रस्तुत गरेका बताउनुभयो । चितवनमा नै पहिलोपटक इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिएको उहाँको भनाइ छ । सो सम्मेलनमा मुख्य वक्ताका रूपमा प्रा डा टेकराज ज्ञवालीले ‘नेपालको पूूर्वाधार विकासमा इञ्जिनीयरिङ कलेजहरू मेरुदण्ड’ तथा लण्डनका डा गारी बलायरले ‘प्रविधि र वातावरण ः सहजीवी सम्बन्धका लागि एक रुपरेखा’ विषयमा धारणा राख्नुभएको थियो । सम्मेलनमा स्वदेश तथा विदेशका १५ भन्दा बढी इञ्जिनीयरले दिगो इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनमा पछिल्लो आविष्कार विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको सम्मेलनका प्राविधिक व्यवस्थापक इञ्जिनीयर सुलभ अधिकारीले बताउनुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल प्रमुख अतिथि रहेको सम्मेलनमा आइओइ पुलचोक क्याम्पसका प्रा डा रामचन्द्र सापकोटा र पूर्वाधार नीतिविज्ञ डा सूर्यराज आचार्य विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । सम्मेलनमा पोखरा विश्वविद्यालयका सम्मेलन सम्पादन प्रमुख डा अञ्जयकुमार मिश्र, पुलचोक क्याम्पसका डा सुरेन्द्र श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा प्रमुख डा टेकराज ज्ञवाली, पूर्वपरीक्षा प्रमुख डा भरतराम ढुङ्गाना, पोखरा विश्वविद्यालयका प्रा डा माधवप्रसाद कोइराला, आइओइ पुलचोक क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा डा गोकर्णबहादुर मथुरालगायत अतिथि रहनुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्डमा जनकल्याण पहिलो

माडीको बरुवामा सञ्चालित तेह्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले उचालेको छ । माडी नगर क्षेत्रका माध्यमिक तहका १० विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा १३ स्वर्णसहित जनकल्याण मावि कल्याणपुर पहिलो भएको हो । प्रतियोगितामा सात स्वर्णसहित माडी माध्यमिक विद्यालय वसन्तपुर दोस्रो र पाँच स्वर्णसहित सोमेश्वर माध्यमिक विद्यालय बरुवा तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो हुन सफल जनकल्याणले १३ स्वर्ण, चार रजत र सात कांस्य, दोस्रो भएको माडी माविले सात स्वर्ण, १० रजत र सात कांस्य तथा तेस्रो भएको सोमेश्वर माविले पाँच स्वर्ण, ११ रजत र पाँच कांस्य पदक जितेका हुन् ।

त्यसैगरी प्रतियोगितामा दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले दुई स्वर्ण र एक रजत तथा कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगरले एक स्वर्ण, दुई रजत र चार कांस्य जितेका छन् । खैरहनी मावि खैरहनी, जनजीवन मावि खरकट्टा र पिसल्याण्ड इङ्लिस बोर्डिङ स्कूल वसन्तपुर भने एक÷एक कांस्य पदकमै फर्किएका छन् । प्रतियोगितामा १८ वर्षसम्मका विद्यार्थीले भलिबल, कबड्डी, मार्सल आर्ट्स र एथलेटिक्सका विभिन्न खेलमा सहभागिता जनाएका थिए ।

लुमन्तीको परियोजना शुरु

गरिब, विपन्न र सुकुम्बासी समुदायको उत्थानका लागि लुमन्ती (सम्झना) ले चितवनको खैरहनीमा परियोजना शुरु गरेको छ । खैरहनी नगरपालिकासँग सहकार्य गर्दै यहाँका लक्षित समुदायको विकासका लागि लुमन्तीले समुदायको अगुवाइमा सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सामुदायिक सबलीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

नगरपालिकामा एक कार्यक्रम गरी परियोजनाबारे यहाँका जनप्रतिनिधि र नगरपालिकाका कार्यालय प्रमुख, शाखा प्रमुखलाई जानकारी गराइएको छ । तीनवर्षे परियोजनाअन्तर्गत सुकुम्बासी समुदायका लागि आर्थिक, सामाजिक विकास, सशक्तीकरणसहित सुरक्षित आवास निर्माण, भौतिक पूर्वाधार निर्माण र खानेपानी धारा जडानलाई प्राथमिकता दिएर समुदायस्तरका काम गर्ने लुमन्ती कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिनुभयो । कार्यक्रममा नगरप्रमुख लालमणि चौधरीले सुकुम्बासी समुदायलाई आत्मनिर्भर बनाउन परियोजनाले मद्दत गर्ने बताउनुभयो । अरुले दिएर कोही सक्षम हुँदैन नगरप्रमुख चौधरीले भन्नुभयो, “लक्षित समुदायलाई आत्मनिर्भर बनाउन सके नगर समृद्ध बन्छ ।”

परियोजनाबारे जानकारी दिँदै लुमन्ती कार्यक्षेत्र संयोजक लामाले नगरपालिका र लुमन्ती संस्थाको सहकार्यमा सूचना केन्द्र स्थापना गरिने छ । गरिब, विपन्न र सुकुम्बासी समुदायका सम्पूर्ण विवरण समावेश गरेर सूचना केन्द्र स्थापना गर्न लागिएको लामाले बताउनुभयो । सूचना केन्द्रमा सुकुम्बासीको अवस्था, घरधुरी सङ्ख्या, जनसङ्ख्यासहित उनीहरूका लागि गर्नुपर्ने काम र भएका प्रयासका बारेमा विवरण राखिने उहाँले जानकारी दिनुभयो ।रासस