आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने

आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोभान बजारका आगलागी पीडित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरिएको छ । मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सबै क्षेत्रबाट उपलब्ध राहत एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।

मङ्गलबार आगलागी भई क्षति पुगेका घर परिवारलाई आर्थिक सहायता प्रदान गर्ने राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, दातृ निकाय र व्यक्तिले गाउँपालिका विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले समेत एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँचसम्मको परिवार सङ्ख्या भएकालाई नगद रु १५ हजार र सोभन्दा बढी सङ्ख्या भएका परिवारलाई रु २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

आगलागीपीडितलाई रु पाँच लाख दिइने

गृहमन्त्री रामबहादुर थापाले आगलागी पीडितलाई प्रतिपरिवार रु पाँच लाख दिइने बताउनुभएको छ । गृहमन्त्रालयमा आज ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्पपीडित तथा बाढीपीडितसरह रु पाँच लाख प्रतिपरिवार दिइने बताउनुभयो । मन्त्री थापाले आगलागी पीडितका लागि तत्काल प्रतिपरिवार १५ हजार ८० कम्बल र ५० पाल उपलब्ध गराउने जानकारी दिनुभयो ।

दुई हजार विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा

मैवाखोला गाउँपालिकाले आज एक हजार ७०० विद्यार्थी र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभित्रका २८ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीमाया गोम्देनले बताउनुभयो ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले हिमपात र चिसोबाट बच्चका लागि न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय विद्यार्थीको परिवारसँग न्यानो कपडा किन्ने पैसा हुँदैन, जाडो मौसममा विद्यालय नै आउँदैनन् ।” बाल शिक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई कपडा वितरण गरिएको प्रवक्ता चोङवाङले बताउनुभयो ।

स्थानीय सरकारको अभिभावकत्वको अनुभूति दिलाउन ७० वर्षदेखिमाथिका ज्येष्ठ नागरिक ५०० जनालाई न्यानो कपडा गाउँपालिकाले वितरण गरेको उहाँले बताउनुभयो । विद्यार्थी र ज्येष्ठ नागरिकका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ३० लाख रकम विनियोजन गरेको बताइएको छ । रासस