पाँचौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता आगामी चैत तेस्रो सातादेखि हुने भएको छ ।
नेपाल भलिबल सङ्घले आज पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । काठमाडौँमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष चैतमा हुनुपर्ने सो प्रतियोगिताका कारण एक वर्षपछि सरेको हो । गत वर्ष नै माघमा सम्पन्न एनभीए क्लब भलिबल च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका पुरुष र महिला टोली छनोट गरिएको सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिनुभयो ।
लिगमा पुरुषतर्फ २८ तथा महिलातर्फ १५ खेल हुनेछन् भने शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा पदाधिकारीका लागि बीमाको व्यवस्था गरिएको सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । चन्दका अनुसार प्रतियोगिताका विजेता महिला र पुरुष दुवै टोलीले रु तीन लाख, उपविजेता टोलीले रु एक लाख ५० हजार, तेस्रो हुनेले रु ७५ हजार तथा चौथो हुनेले रु ३७ हजार ५०० पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले रु २५ हजार तथा उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले रु १० हजार प्राप्त गर्नेछन् ।
लिग सञ्चालन गर्न रु २८ लाख खर्च हुने सङ्घले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गर्ने यसअघि नै सम्झौता भइसकेको छ । प्रतियोगितमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, बुद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब बुटबल र बुलबुले क्लब रारा तथा महिलातर्फ एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकूद परिषद्ले सहभागिता जनाउने सङ्घले जनाएको छ ।
प्रतिक्रिया