एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ । यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।
शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
चितुवाको आक्रमणबाट बालक घाइते
बन्दीपुर गाउँपालिकामा आज बिहान चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–१ कौशलीछापमा चितुवाको आक्रमणबाट चार वर्षीय बालक अपल चेपाङ घाइते भएका हुन् ।
घर नजिकैको बारीबाट फर्किने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो । बालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले तनहुँका विभिन्न ठाउँमा चितुवा रहेकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । विगत साढे दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट जिल्लामा दश बालबालिकाले ज्यान गुमाएका छन् । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने, पानीको स्रोत मासिने जस्ता कारणले चितुवा बस्तीमा आउन थालेको छ ।
कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्ने लगायतका सावधानी अपनाउन आग्रह गरेको छ । काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ ।रासस
प्रतिक्रिया