आफ्नै स्वास्थ्यका लागि दौडौ उपाधि गुरुङ र ऐरीलाई

आफ्नै स्वास्थ्यका लागि दौडौ उपाधि गुरुङ र ऐरीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले आज आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि तनहुँ शुक्लागण्डकीका सुगम गुरुङ र कालीकोटकी विशेषता ऐरीले जित्नुभएको छ ।

पुरुषतर्फ गुरुङले १९ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो । महिलातर्फ ऐरीले २३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्नुभयो । दुवैले जनही नगद रु १५ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

पुरुषतर्फ मोरङका राम थापा १९ मिनेट ४१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । बागलुङका सुनिल केसी २० मिनेट ६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । दोस्रो र तेस्रोले क्रमश ः रु दश हजार, रु पाँच हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

महिलातर्फ २४ मिनेट ४२ सेकेण्डमा दूरी पार गर्नुभएकी गुल्मीकी निर्मला थापा दोस्रो हुँदा दुई सेकेण्डले पछाडी पर्नुभएकी तनहुँ थर्पुकी वर्षा श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरुले क्रमश ः रु दश हजार र रु पाँच हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा चार सय भन्दा बढी धावकको सहभागिता थियो ।

विजयी धावकलाई शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, श्री नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी कुमारबाबु थापाले पुरस्कार वितरण गर्नुभयो ।

बाहिनीपति थापाले दिवसको अवसरमा नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रम गरिएको बताउनुभयो । सेना दिवसको अवसरमा श्री नम्बर ३ बाहिनीले खैरेनीटारका व्यवसायीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो । यस्तै सेनाले यहाँका प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर, प्रकृतिदेवी मनकामना मन्दिरमा सरसफाइसमेत गरेको छ ।

कोदोको उत्पादन घट्दैः माग बढ्दै

पहाडी ग्रामीण भेगमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण भेगका लागि समेत दुर्लभ बन्दै गएको हो ।

कोदो फल्ने बारी अहिले बाँझो बारीमा परिणत हुँुदै गइरहेको छ । म्याग्दे गाउँपालिका–१ बाख्रे निवासी गोमा न्यौपानेले पहिला डाँडाभरि हुने कोदोखेती अहिले कहिँकतै मात्र हुने गरेको बताउनुभयो । करीब दश वर्ष अघिसम्म दशमुरी कोदो उत्पादन हुने बारीमा अहिले बीउसमेत राख्न छाडेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो लोप हुँदै गएको उहाँको भनाइ थियो ।

ब्यास नगरपालिका–६ निवासी धु्रव रिमालले काम गर्ने जनशक्ति नपाउँदा आफूले पनि कोदो खेती गर्न छाडेको बताउनुभयो । “छोराछोरी पोखरामा पढ्छन्, घरमा बूढाबूढी मात्र छौ, बुढेसकालमा खेती गर्न सकिएन,” उहाँले भन्नुभयो । वर्षौ पहिलेसम्म मुरीकामुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेडा पनि कोदो छैन ।

“कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेका पुस्तालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र,” उहाँले भन्नुभयो, “म सानो हुँदा कोदोको ढिँडो र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।”

अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ । औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको उहाँले बताउनुभयो ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न र घरेलु मदिरा उत्पादन गर्नका लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको कृषक रामलाल श्रेष्ठले बताउनुभयो ।

होटेलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेको म्याग्दे गाउँपालिका–१ स्थित हाइवे रेष्टुरेन्टका सञ्चालक विनोद खनालले बताउनुभयो ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने गरेको छ । विगतमा तनहुँको ६ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमा ६ हजार ६०० मेट्रिक टन कोदो उत्पादन हुँदै आएकामा हाल पाँच सय हेक्टरमा मात्र खेती हुने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा कोदो खेती हुँदै आए पनि विगतको तुलनामा उत्पादन ह्वात्तै घटेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । “कोदो खेती गर्न धेरै गाह्रो हुने हुनाले पनि खेती कम हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

किरियापुत्री भवन सञ्चालनमा ल्याइने

शहरिया साँघुरो र घना बसाइँ व्यवस्थायुक्त रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महसुस गरी तनहुँको ब्यास नगरपालिका–३ मा किरियापुत्री भवन निर्माण गरियो । नागरिकस्तरबाट समिति गठन गरी शुरु भएको भवन निर्माण कार्यमा देश तथा विदेशबाट सहयोग भयो ।

किरियापुत्री भवन निर्माणका लागि देश तथा विदेशबाट राम्रो रकम सङ्कलन भएको र ब्यास नगरपालिकाले पनि आर्थिक सहयोग गरेपछि भवन निर्माण सम्पन्न भएको तत्कालीन भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्सालले बताउनुभयो । लम्सालका अनुसार रु ९८ लाखमा भवन निर्माण गरिएको थियो । उक्त भवन निर्माणका लागि ब्यास नगरपालिकाले रु ३६ लाख ७६ हजार ७९७, ब्यास नगरपालिका–३ वडा कार्यालयले रु दुई लाख ६० हजार सहयोग गरेको थियो ।

“दमौलीमा एउटा किरियापुत्री भवनको आवश्यकता महसुस भएको थियो, सोही बमोजिम स्थानीयवासीसँग छलफल ग¥र्यौ र काम अगाडि बढायौ,” उहाँले भन्नुभयो, “उक्त भवन गत वर्ष ब्यास नगरपालिकालाई हस्तान्तरण गरेका थियौ ।” गत चैतमा कोरोना सङ्क्रमण शुरु भएपछि नगरपालिकाले उक्त भवनलाई आइसोलेशन कक्ष बनाइएको थियो । किरियापुत्रीका लागि भनेर निर्माण गरिएको उक्त भवन सोही प्रयोजनका लागि सञ्चालनमा आउन सकेको छैन ।

“जुन उद्देश्यका साथ भवन निर्माण भएको थियो, सोही बमोजिम सञ्चालन भएको छैन,” लम्सालले भन्नुभयो । दुई हजार ९०० वर्गफिट क्षेत्रफलमा फैलिएको भवनमा कुरुवा बस्ने कक्ष बाहेक ८ कोठा छ ।

नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त भवन अब नागरिकस्तरबाटै सञ्चालन हुने भएको छ । नगरपालिकाले किरियापुत्री भवन सञ्चालनसम्बन्धी कार्यविधि २०७७ खारेज गरी उक्त भवन सञ्चालन गर्न नागरिकस्तरबाटै समिति बनाउने निर्णय गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । ब्यास नगरपालिका–२, ३ र ४ का वडाध्यक्षको परामर्शमा सात जनाको समिति गठन गर्ने गरी लम्साललाई नै संयोजनको जिम्मेवारी दिइएको छ ।