लागत घटाउन कृषि यान्त्रिकीकरणमा जोड

लागत घटाउन कृषि यान्त्रिकीकरणमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २७ फागुन। लागत घटाउँदै उत्पादन बढाउन तनहुँका सरोकारवाला निकायले कृषि यान्त्रिकरणमा जोड दिएका छन् । परम्परागत रुपमा गरिँदै आएको कृषि व्यवसायमा लागत घटाउन कृषि ज्ञान केन्द्र, स्थानीय तहले कृषि यान्त्रिकरणमा जोड दिएका हुन् ।

सोही बमोजिम ज्ञान केन्द्र तनहुँले जिल्लाका कृषकलाई अनुदानमा उपकरण वितरण गरेको छ । केन्द्रले आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकका कृषकलाई ९० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो ।

मकै, भटमास तथा चैते धान कार्यक्रममार्फत मार्कीचोकका कृषकलाई रु आठ लाख सात हजार ५०० बराबरको कृषि उपकरणहरु हस्तान्तरण गरिएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । त्यसमध्ये ९० प्रतिशतबापतको रु सात लाख २० हजार ४५० ज्ञान केन्द्रले अनुदान दिएको छ भने १० प्रतिशतबापतको रु ८० हजार ७५० कृषकले बेहोर्नुपर्नेछ । केन्द्रले मार्कीचोकस्थित पारिजात ताजा तरकारी उत्पादन समूहलाई मकै छोडाउने मेसिन, मकै बीउ, विभिन्न प्रकारका विषादीलगायत वितरण गरेको छ ।

ज्ञान केन्द्रले ३५० रोपनीमा लगाउन ४३७ केजी मकै बीउ (सिपी जात), एक सय रोपनी लगाउनका लागि एक सय २५ केजी मकै बीउ (उन्नत जात), आठ मकै छोडाउने मेसिन, पाँच मकै बीउ रोप्ने मेसिन, दुई वटा धार गोड्ने मेसिन र १० थान स्प्रेयर लगायतका सामग्री वितरण गरेको छ ।

तिवारीका अनुसार पछिल्लो समय मकै, भटमास खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएकाले अनुदान दिएर यसखेतीतर्फ कृषकको आकर्षण बढाउन खोजिएको छ । उहाँका अनुसार जिल्लाका हरेक पालिकामा तीन वटा ब्लक बनाएर कार्यक्रम सञ्चालन गरिएको छ ।

मार्कीचोकका कृषक सोलबहादुर चितौरेले कृषि उपकरणमार्फत् कृषि खेती गर्दा समयको बचतसँगै लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । “परम्परागत रुपमा गरिने कृषिखेतीले निर्वाह गर्न मात्रै पुग्छ, कृषिमा यान्त्रिकरण अहिलेको आवश्यकता भइसकेको छ,” चितौरेले भन्नुभयो । गोरु पाल्ने चलन घट्नु र युवाहरु विदेशिने कारणले खेतबारी बाँझो हुने क्रम बढ्दो छ । गाउँघरमा रहेका जग्गालाई बाँझो हुन नदिन र कृषितर्फ आकर्षित गराउन व्यास नगरपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले पचास प्रतिशत अनुदानमा १४ वटा हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो ।

किसानको माग अनुसार प्रत्येक वर्ष हाते ट्याक्टर अनुदानमा वितरण हुँदै आएको छ । “यस वर्ष २० जनाले हाते ट्याक्टर माग गर्नुभएको थियो । अहिलेलाई १४ वटा ट्याक्टर वितरण गरेका छौँ”, वाग्लेले भन्नुभयो । आधुनिक र व्यावसायिक खेती प्रणालीमा अग्रसर गराउन किसानलाई आवश्यक औजार, तालीम लगायतको सहयोग नगरपालिकाबाट हुँदै आएको छ ।

व्यास नगरपालिका–५ का बलबहादुर श्रेष्ठले भनेको समयमा गोरु नपाइएकाले हाते ट्याक्टर अनुदानमा लिएको बताउनुभयो । “आवश्यक परेको बेला हलगोरु पाइँदैन, हाते ट्याक्टरले जोत्न पनि सजिलो छ”, उहाँले भन्नुभयो ।

घिरिङ गाउँपालिकाले पनि कृषकलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा हाते ट्याक्टर, थ्रेसर मेसिन र बेसार पिस्ने मेसिन कृषकलाई हस्तान्तरण गरेको हो । ३२ कृषकलाई हाते ट्याक्टर, पाँच कृषकलाई धान झाँट्ने थ्रेसर मेसिन र एक कृषकलाई बेसार पिस्ने मेसिन सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

गाउँपालिकाले सूचना प्रकाशित गरी इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजारको लागि निवेदन दिन आह्वान गरेको थियो ।

आठ हजार ज्येष्ठ नागरिकलाई खोप

चार दिनका अवधिमा आठ हजार बढी ज्येष्ठ नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेबाट शुरु अभियान अन्तर्गत बुधबारसम्म पाँच पालिकाका आठ हजार ४५ ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

व्यास नगरपालिकाका दुई हजार सात सय ९९, भानु नगरपालिकाका दुई हजार तीन सय ९४, देवघाट गाउँपालिकाका एक हजार ७२, आँबुखैरेनी गाउँपालिकाका आठ सय ७७ र बन्दीपुर गाउँपालिकाका नौ सय तीन ज्येष्ठ नागरिकलाई खोप लगाइएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ । यस अवधिमा १५ हजार भन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाइँदैछ । खोप लगाउनका लागि जिल्लाका दशवटै पालिकामा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान सञ्चालनका लागि २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ स्वयंसेवक परिचालन गरिएको छ ।

एमाले र माओवादी केन्द्रका कार्यालय सञ्चालन

विसं २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि तनहुँमा साविक नेकपा एमालेको कार्यालयलाई मुख्य कार्यालय बनाइयो । व्यास नगरपालिका–३ स्थित पराशर टोलमा रहेको नेकपा एमालेको कार्यालयको बोर्ड परिवर्तन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट कार्यालय सञ्चालन भयो ।

कार्यालय सञ्चालनका लागि एमालेको तर्फबाट राजेश्वर ढकाल र माओवादी केन्द्रको तर्फबाट बसन दरै कार्यालय सचिव तोकिनुभयो । संसद विघटन गर्ने सरकारको निर्णयसँगै दुई खेमामा विभाजित नेकपा नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा कार्यक्रम गर्ने क्रममा विवाद समेत हुँदै आयो । तर सर्वोच्च अदालतको फैसलासँगै जिल्लामा एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कार्यालय सञ्चालनमा आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुख्य कार्यालयलाई नेकपा एमालेको कार्यालयमा परिवर्तन गरिएको छ । उक्त भवन यस अघिपनि एमालेकै थियो । कार्यालयको बोर्ड परिवर्तनसँगै एमालेले आफ्ना बैठक तथा भेला शुरु गरिसकेको कार्यालय सचिव राजेश्वर ढकालले जानकारी दिनुभयो । भेलामा एमाले नेता टुकराज सिग्देलले पार्टीलाई सङ्टमा परेको बेलामा कुन नेता र कार्यकर्ताको भूमिका के थियो भनेर मूल्याङ्कन हुने बताउनुभयो । एमालेका जिल्ला कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टी पुर्नगठनको प्रकृया शुरु गरिने जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रले पनि बुधबार व्यास नगरपालिका–४ स्थित हरिओम टोलमा रहेको भवनबाट कार्यालय सञ्चालन गरेको छ । कार्यालयको सरसफाई गर्दै माओवादी नेता तथा कार्यकर्ताले नेकपा माओवादीको केन्द्रको बोर्ड टाँसेको नेकपा माओवादी केन्द्रका नेता सुदिन पौडेलले जानकारी दिनुभयो । रासस