‘सेमी हाइटेक’ प्रविधितर्फ किसान आकर्षित

‘सेमी हाइटेक’ प्रविधितर्फ किसान आकर्षित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दीका किसानले रैथाने प्रविधिको प्रयोग गरी परम्परागतरुपमा गर्दै आएको तरकारी खेतीलाई आधुनिकीकरण गरी ‘सेमी हाइटेक’ प्रविधितर्फ आकर्षित भएका छन् । यो प्रविधिको प्रयोग गरी तरकारीखेती गर्न थालेपछि साविकको भन्दा चारगुणा बढी आम्दानी हुन थालेको कृषकले बताएका छन् ।

म्याग्दीका चन्द्रबहादुर घिमिरे, हरिलाल घिमिरे, सोभित शर्मा, चन्द्रबहादुर कार्की, श्याम सापकोटा, धु्रव थापालगायत कृषकले सेमी हाइटेक प्रविधिको प्रयोग गरेको तरकारीखेतीबाट प्रशस्त कमाइगरिरहेका छन् । दश वर्षको वैदेशिक रोजगारीलाई बिट मारेर विसं २०७२ मा गाउँ फर्केका म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको रोहोटेपानीका चन्द्रबहादुर घिमिरेको जीवनमा तरकारीखेतीबाट नै हरियाली छाएको छ ।

चार वर्षसम्म सामान्य प्रविधि र सीपको प्रयोग गरी तरकारीखेतीमा लागेका घिमिरेले २०७६ सालदेखि आधुनिक प्रविधि र सोहीअनुरुपको सीप विकसित गर्दै तरकारी खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएपछि अहिले साविककोभन्दा चार गुणा बढी आम्दानी हुन थालेको बताउनुभयो ।

कृषक घिमिरेले विसं २०७६ को शुरुआतसँगै सेमी हाइटेक प्रविधि अपनाएर तरकारीखेती गरेपछि यो डेढ वर्षको अवधिमा रु १० लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । घिमिरे मात्रै होइन, पछिल्लो समयमा म्याग्दीको तरकारीखेतीमा आधुनिक प्रविधिको प्रयोग बढेको छ । खेती गर्न सहज, रोग, किराबाट बचाउन र उत्पादन बढाउन सकिने भएपछि व्यावसायिक कृषकले सेमी हाइटेक प्रविधि अपनाएका हुन् ।

खुला आकाशमुनि र परम्परागत टनेलभित्र तरकारीखेती गर्दै आएका कृषक पछिल्लो समय चारैतिर जालीले घेरिएको स्थायी प्लास्टिक घर (सेमी हाइटेक र हाइटेक) प्रविधिको टनेलमा तरकारी उत्पादन गर्ने प्रविधिप्रति आकर्षित भएका हुन् । बिरुवाको जराजरामा पाइपमार्फत सिँचाइ र खाद्य तत्व आपूर्ति गर्ने सुविधा हुने सेमी हाइटेक प्रविधिको टनेललाई जालीले बेरिएकाले किरा छिर्न पाउँदैन ।

यस्तो प्रविधिबाट समयको बचत, लागत घटाउन, रोग, किराबाट बचाउन र गुणस्तरीय तरकारी उत्पादन बढाउन सकिने कृषक घिमिरेले बताउनुभयो । घिमिरेले नौ रोपनी जमीनमा तरकारीखेती गर्नुभएको छ । त्यसैगरी अर्का कृषक सोभित शर्माले पनि हाइटेक प्रविधिको तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । “मैले साधारण टनेलमा खेती गर्दा प्रतिटनेल रु ५० हजार बराबरको गोलभेंडा उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर हाइटेकको प्रयोग गर्न थालेपछि एउटा टनेलमा रु ९० हजारभन्दा बढीको गोलभेंडा फलाएर बिक्री गर्न सफल भएँ ।” उहाँले पाँच वटा हाइटेक टनेलमा तरकारीखेती गर्नुभएको छ ।

गोलभेंडा, काँक्रो, घिराँैला, सिमी, करेला, साग, भण्टा, काउली, बन्दा, खुर्सानीलगायतका तरकारी बेसिजनमा उत्पादन गर्नका लागिसमेत हाइटेक प्रविधिको टनेल उपयोगी मानिएको बेनी नगरपालिका–२ खबराका अर्का कृषक धु्रव थापाले बताउनुभयो । सडक सुविधा विस्तारसँगै बजारमा पहुँच भएपछि रोजगारी सिर्जनाका साथै छोटो समयमा आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय म्याग्दीका कृषक व्यावसायिक तरकारीखेतीप्रति आकर्षित भएका छन् ।

म्याग्दीमा करीब २०० व्यावसायिक तरकारीखेती गर्ने कृषक भएको अनुमान छ । कृषि ज्ञान केन्द्रको साना व्यावसायिक मोडेल फार्म र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई नयाँ प्रविधि भित्र्याउन प्राविधिकका साथै अनुदान दिएका छन् । रासस