राजनीतिक दल जनअपेक्षाअनुसार चल्न सकेनन्–बिजुक्छे

राजनीतिक दल जनअपेक्षाअनुसार चल्न सकेनन्–बिजुक्छे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटन गर्दै बिजुक्छेले भन्नुभयो, “राजनीतिक व्यक्तित्वमा नागरिक भावना कम हुँदै गएको छ, उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको छ ।” बुद्धिचाल खेल एक प्रकारको लडाईं हो भन्दै उहाँले अहिले राजनीतिमा अस्वस्थ्य लडाईं चलेको र जनअपेक्षाको उपेक्षा भएको टिप्पणी गर्नुभयो ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे । तस्वीर ः रमेश गिरी, रासस

विद्यालयस्तरमा भक्तपुर नगरले लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठ समावेश गरिनुपर्ने बताउँदै उहाँले खेलाडीले खेलकूदका माध्यमबाट देशलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बिजुक्छेले खेलकूद मित्रता र शारीरिक स्वस्थताका लागि अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्पmत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन प्रतियोगिता आयोजना गरेको चर्चा गर्नुभयो । वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईंले तीस वर्षमा शासक दलले नेपालीको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उहाँले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या जस्ताको तस्तै रहेको भनाइ राख्नुभयो ।

त्यसअवसरमा भनपाका उपप्रमुख रजनी जोशी, भनपा–७ का वडाध्यक्ष उकेश कवां, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकलाल श्रेष्ठ, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलगायतले यस प्रकारको प्रतियोगिताले खेलाडीमा बौद्धिकता विकासमा टेवा पु¥याउने बताउनुभयो । अन्तर नगर बुद्धिचाल प्रतियोगितामा २२ नगरपालिकाको सहभागिता रहेको छ ।रासस