‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आज १०० वर्षीया मनकुमारी लामिछानेलाई गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले परिचयपत्र प्रदान गर्नुभयो । विसं १९७६ पुस ५ गते जन्मिनुभएकी लामिछानेले पहिलो पटक ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी लागेको बताउनुभयो ।

“एक सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ, अब पाउनुपर्ने अन्य सुविधा पनि पाउने आशा जाग्यो”, लामिछानेले भन्नुभयो । गाउँपालिकाले वडा वडाबाटै परिचयपत्र वितरण गरिदिँदा आफूहरूलाई सहज भएको उहाँले बताउनुभयो । “यो अवस्थामा गाउँपालिकासम्म गएर परिचयपत्र लिन परेको भए समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “घरआँगनमै परिचयपत्र पाउँदा एकदमै खुशी छु ।”

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आइतबार १०० वर्षिया ज्येष्ठ नागरिक मनकुमारी लामिछानेलाई परिचयपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण सुरु गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिँदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताउनुभयो । पोख्रेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार ४०० बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । वडा नं ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ ।रासस