दण्डहीनता अन्त्य गर्न शान्ति समाजको माग

दण्डहीनता अन्त्य गर्न शान्ति समाजको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मानव अधिकार तथा शान्ति समाज काठमाडाँै शाखाले जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब दिएको छ । अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस २१ मार्चका अवसरमा दबाबस्वरुप बौद्धमा प्रदर्शन गरिएको थियो ।

‘दलित अधिकार, मानव अधिकार’, ‘सबैका लागि सबै अधिकार’, ‘जातीय विभेद अपराध हो’, ‘छुवाछूत अन्त्य गरौँ, मानव अधिकार रक्षा गराँै लगायतका प्लेकार्डसहित गरिएको प्रदर्शनमा वाग्मती प्रदेशसभा सदस्यद्वय कल्पना नेपाली र छिरिङदोर्जे लामा, दलित विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागार्इं, उत्तम पुडासैनीलगायतले जातीय विभेद अन्त्य गर्न जागरणमूलक अभियान चलाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार सङ्घ रुपन्देही, जागरण मिडिया सेन्टर, परियार सेवा समाज, सृजनशील सहयात्री समाज बुटवलद्वारा आज बुटवलमा ‘विभेद कहिलेसम्म ?’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा संविधानसभा सदस्य विनोद पहाडी, शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, लुम्बिनी प्रदेशसभा सदस्य दीपा विश्वकर्मा, राजनीतिकर्मीहरु गङ्गा शाही, देवी घलेलगायतले मन्तव्य राख्नुभएको थियो ।

यसै सन्दर्भमा आज शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित सबै मिली जातीय छुवाछूत अन्त्य गरौँ भन्ने विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी यज्ञ विकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली जनप्रतिनिधि युवा करारा, राजनीतिकर्मीहरु जोगेन्द्र विश्वकर्मा, सर्जन परियार, राधिका परियार, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपालीलगायतले जातीय छुवाछूतको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलेमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । यसै सम्झनामा प्रत्येक वर्ष मार्च २१ का दिन जातीय विभेद उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस मनाइन्छ ।रासस