काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
आज बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको आगामी रणनीतिबारे छफल गर्ने नेपाल पक्षका एक केन्द्रीय सदस्यले जनाएका छन् । ‘पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच विवाद चुलिँदैछ।
ओली पक्षले आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ भने नेपाल पक्षले पनि समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।
यसैबीच, पार्टी अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ।
यता नेपाल समूहले भने बालुवाटारमा बस्ने पार्टीको कुनै पनि बैठकमा सहभागी नहुने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया