त्रिपालमुनि रात बिताउँदै आगजनी पीडित

त्रिपालमुनि रात बिताउँदै आगजनी पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँकेको नरैनापुरका आगलागी पीडित त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् । आगलागीले घर गोठ जलेपछि त्रिपालमुनी बास बस्नुपरेको नरैनापुर गाउँपालिका–६ दोन्द्राकी आगलागी पीडित रमादेवी कोरीले बताउनुभयो । त्रिपालमुनी बास बस्दा बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको उहाँको भनाइ छ ।

गत फागुन २४ गते वडा नं १ सुईया गाउँमा २४ घर नष्ट हुनेगरी आगलागी भएको थियो । त्यसयता वडा नं. ५ मोतिपुर, वडा नं ६ दोन्द्रा, वडा नं २ लक्ष्मणपुर र सोही वडाकै देउचहवा गाउँमा आगलागी भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा आगलागीका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । आगलागी पीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घ संस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ ।

नरैनापुरका अधिकांश वस्तीमा एकआपसमा जोडिएर खरको छानाबाट बनेका घरमा आगलागीको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ । गर्मीयामको शुरुवातसँगै नरैनापुर क्षेत्रमा आगलागीका घटना बढेका छन् । एक महिनाको अवधिमै ३९ घरमा आगलागी भई खाद्यान्न नष्ट भएको छ । आगलागी पीडित अहिले त्रिपालमुनि रात बिताउन बाध्य छन् ।

आगलागीको प्रकोप न्यूनिकरण गर्न गाउँपालिकाले अब खरका छाना हटाउने अभियान सञ्चालन गर्ने भएको छ । अहिले तत्काल आगलागी पीडित ३१ परिवारलाई प्रदेश सरकारसँगको साझेदारीमा कर्कटपाता वितरण प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो ।

राहत वितरण

नरैनापुरका आगलागी पीडितलाई राष्ट्रिय युवा सङ्घ नेपाल बाँकेले आज राहत वितरण गरेको छ । वडा नं ६ गङ्गापुरको दोन्द्रा र वडा नं २ लक्ष्मणपुरका आगलागी पीडितलाई खाद्य सामग्री प्रदान गरिएको राष्ट्रिय युवा सङ्घका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।

नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिव रबिन्द्र लम्साल, केन्द्रीय सचिवालय सदस्य खेम शर्मालगायत नेताले राहत सामग्री वितरण गर्नुभएको थियो ।