कथाकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ एकसाथ बजारमा

कथाकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ एकसाथ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’ को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ । सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर आज उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । यसअघि उहाँले खण्डकाव्य तथा गीति नाटकलगायत अन्य थुप्रै फुटकर कथा÷कविता लेखिसक्नुभएको छ ।

पुस्तक विमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपालले लेखक ओलीको शालीन व्यक्तित्व कथामा झल्किएको बताउनुभयो । नेपालले सामाजिक विकृतिलाई हेर्ने उहाँको दृष्टिकोण पृथक र गजब लोभलाग्दो रहेको प्रतिक्रिया दिनुभयो । “कथाले हरेक क्षेत्रमा उत्तर खोजिरहेको छ, यालमायामा त्रिकोणातमक प्रेम छ तर भावनात्मक भन्दा द्वन्द्वात्मक छ”, नेपालले अगाडि भन्नुभयो, “ती कथामा वर्ग द्वन्द्व स्पष्ट रूपमा झल्किएको छ ।” उहाँले कथामा निराशा र विकृति मात्रै नदेखाएर बाटो र समाधान देखाउने काम गरेर लेखकले छुट्टै पहिचान स्थापित गर्नुभएको नेपालले बताउनुभयो ।

पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले कथामा रुकुमको स्थानीय ठेट शब्दको प्रयोग गरेर साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । कथाहरूमा मायाप्रेम भित्र राजनीतिक र राजनीतिभित्र मायाप्रेम मिसिएको स्मरण गर्दै प्रभाकरले साहित्यले समाजका उतारचढाव, सङ्घर्ष र राजनीतिकलाई कलात्मक रूपले अभिव्यक्त गर्नसक्नु पर्नेमा जोड दिनुभयो । उहाँले कथाभित्र आफूले ती विषय पाएको बताउनुभयो ।

आख्यानकार अश्विनी कोइरालाले नेपाली साहित्यको क्षेत्रमा प्रेम साहित्यको नाम लिँदा यालमायालाई भुल्न नहुनेमा जोड दिनुभयो । “कथाकार ओलीले पुस्तकमा छोटा र सरल वाक्य प्रयोग गरेर सुरम्य सङ्गीत जस्तो भाषा खेलाउनु भएको छ”, कोइरालाले प्रतिप्रश्नका साथ भन्नुभयो, “यति ठूलो सम्भावना भएको लेखक यत्रा वर्षसम्म कहाँ हराउनुभएको थियो ?”

अधिवक्ता रहेका स्रष्टा मनोहर लामिछाने लेखक ओलीले भाषिकाको प्रयोग आफ्नै रुकुमको भूगोलको प्रयोग गरेर कथामा सुगन्ध थपिदिएको बताउनुभयो । सामाजिक यथार्थवादी र मनोवैज्ञानिक परिवेश समेटिएको उक्त कथामा लेखकले आफ्नो जागिरे जीवनको भोगाइ सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको लामिछानेको भनाइ थियो ।

समीक्षक डा रजनी ढकालले जितौरी कथा भूकम्पको परिवेशमा र जुवाडेका गतिविधिलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । “लेखकले सामाजिक जीवनलाई जीवन्त रूपमा उठाएर राज्यसँग जोड्ने प्रयास गर्नुभएको छ ”, ढकालले थप्नुभयो, “ठूला कर्मचारीले साना कर्मचारी माथि गर्ने दुव्र्यवहार, साना कर्मचारीले बाध्य भएर गर्नुपर्ने चाकडीलगायत प्रशासनिक कमजोरीलाई यथार्थ रूपमा चित्रण गर्नुभएको छ ।”

लेखक ओलीले यलमायामा नारीप्रधान कथा समावेश गरिएको जानकारी दिँदै जितौरीमा प्रशासनिक पात्रमार्फत पहिले र अहिलेको राज्य व्यवस्थाको चरित्रमा कुनै परिवर्तन नआएको विषयलाई समेटेको बताउनुभयो । रासस