सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेशसभाका १० बैठकमा लगातार उपस्थित हुन नसक्नुका कारण जानकारी गराउनेसम्बन्धी सूचनाको प्रस्तावलाई प्रदेशसभाको बैठकले स्वीकृत गरेको छ ।
प्रदेशसभाको बैठकमा आज सभामुख अर्जुनबहादुर थापाले ‘सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली २०७४’ बमोजिम उक्त प्रस्ताव पेश गर्नुहुँदा बैठकले स्वीकृत गरेको हो । प्रदेशसभा नियमावलीमा कुनै सदस्य लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहनुपर्ने भएमा तत्सम्बन्धी अग्रीम सूचना सभामुखलाई दिनुपर्ने, सूचनामा अनुपस्थित रहने अवधि र कारण उल्लेख गर्नुपर्ने र यस्तो सूचनालाई सभाको स्वीकृतिको निमित्त सभामुखले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
बैठकमा सभामुख थापाले प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबाट ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको जानकारी गराउनुभयो । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले छुट्टाछुट्टै रुपमा ‘सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ र ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गर्नुभयो ।
यसअघि बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य उमाकुमारी बादीले कञ्चनपुरको दोधारा चाँदनीका वादी समुदायका परिवारको भोगचलनमा रहेको ऐलानी जग्गा स्थानीय विद्यालय र सशस्त्र प्रहरी बलले कब्जा गर्दा बादी समुदायको बिचल्ली भएको भन्दै उनीहरूको उचित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो ।रासस
प्रतिक्रिया