क्यान्सरपीडितको उपचारमा सहयोग जुटाउन फोटो प्रदर्शनी

क्यान्सरपीडितको उपचारमा सहयोग जुटाउन फोटो प्रदर्शनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरै क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि विकासको परिवारले सहयोगको अपिल गरिरहेको छ । केही व्यक्ति तथा सङ्घसंस्थाको पहलमा उपचारका लागि रकम जुट्नेक्रम पनि शुरु भएको छ ।

विकासको उपचारमा सहयोग जुटाउने उद्देश्यले दमौलीमा चैत २० गते फोटो प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा विकासले खिचेका फोटो राखिने उहाँका साथी सनम अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा राखिने फोटो बिक्री गरिने र बिक्री भएको रकम विकासको उपचारका लागि सहयोग गरिने छ । कुशल फोटोग्राफर रहनुभएका विकासले देशका विभिन्न ठाउँमा पुगेर तस्वीर कैद गर्नुहुन्थ्यो । “विकासलाई अहिले सहयोगको खाँचो छ, सबैले धेरैथोरै सहयोग गरिदिए विकासको बाँच्ने चाहना पूरा हुन्छ”, अधिकारीले भन्नुभयो ।

घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर

तनहुँको म्याग्दे गाउँपालिका–४ गहिरागाउँका स्थानीयवासी घरबास सञ्चालनका लागि कस्सिएका छन् । मगर समुदायको बसोबास रहेको यहाँ घरबास सञ्चालनका लागि स्थानीयवासीले चासो देखाएका हुन् ।

त्यसका लागि सञ्जिव आलेमगरको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा चमनसिं राना, सचिवमा श्रीकुमारी थापा, कोषाध्यक्षमा रिता राना र सदस्यमा भीमराज थापा, सनिमाया थापा, मिनबहादुर राना, खुशीराम राना, हर्कबहादुर राना र लक्ष्मीमाया थापा रहनुभएको छ ।

उक्त समितिले मगर सामुदायिक घरबास गहिरागाउँ दर्ता गर्न खुशीराम रानालाई जिम्मेवारी दिएको छ । घरबास सञ्चालनका लागि गाउँपालिकाले तालीम दिने भएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले घरबास सञ्चालन गरेर आयआर्जनतर्फ लाग्न स्थानीयवासीलाई गाउँपालिकाले सघाउने प्रतिबद्धता जनाउनुभयो । रासस