नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनु भएको छ । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीद्वारा आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवं पुनर्गठन कार्यक्रममा उहाँले वर्तमान पार्टी नेतृत्वले आफूखुशी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताहरुको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिष्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिनुभयो । उहाँले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी जनताको पार्टीप्रतिको आशा एवं विश्वास जगाउने कार्य भइरहेको बताउनुभयो ।
कार्यक्रममा युवा नेताहरु जगन्नाथ खतिवडा, जीवन घिमिरे, धनेन्द्र बस्नेत, डा देउमान सम्वाहाम्फे र महेश रेग्मीलगायतले पार्टी विधि, विधान र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा नेता नेपालले चन्द्रवीर राईको अध्यक्षतामा ३२५ सदस्यीय मोरङ जिल्ला कमिटी र पारुल क्षेत्रको अध्यक्षमा १७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गर्नुभयो ।रासस
प्रतिक्रिया