तनहुँ उद्योग वाणिज्य सङ्घ एकाइमा भूपाल निर्वाचित

तनहुँ उद्योग वाणिज्य सङ्घ एकाइमा भूपाल निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको अध्यक्षमा भूपाल आले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार आले एकाइ अध्यक्षमा निर्वाचित हुनुभएको हो । नयाँ नेतृत्व चयनका लागि शनिबार दिउँसो मतदान भएको थियो । एक हजार ८५ मध्ये ८३५ ले मतदानमा सहभागिता जनाएका थिए ।

आले २७२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिनुभयो । अध्यक्षका प्रतिस्पर्धी सुकनारायण मल्लले २२८, दधिराज घिमिरेले २०९ र विन्दु श्रेष्ठले १०३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी एकाइ उपाध्यक्षमा राजेश मल्ल निर्वाचित हुनुभएको छ । उहाँले ५४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी विजयराज पौडेलले १९५ मत प्राप्त गर्नुभएको छ । एकाइ कोषाध्यक्षमा किनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले २५८ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी भरतकुमार श्रेष्ठले २३९, अन्जु दाहालले २०५ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गर्नुभयो ।

जिल्ला प्रतिनिधिमा महेश मल्ल ६०९, रमेश श्रेष्ठ ५४४, एकप्रसाद श्रेष्ठ ५४९, किशोर श्रेष्ठ ५३६ र प्रकाशचन्द्र हड्खले ५२६ मत प्राप्त गरी विजयी हुनुभएको छ । एकाइ सदस्यमा भरत पराजुली (४९४), विष्णुकुमार श्रेष्ठ (५२८), ब्रजेश शाह (५५९), दिलबहादुर दरै (६०५), दीपक राई (४४८), कमल गिरी (५३३), लालप्रसाद प्रधान (५१५), महमद सलिम मियाँ (६०८), नारायण मल्ल (५८१), प्रकाश श्रेष्ठ (५६९), राजेन्द्र श्रेष्ठ (५१९), राजकुमार श्रेष्ठ (५२९), सुनिल श्रेष्ठ (५७६) र युवराज भण्डारी (४९०) मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भेटेरेनरी अस्पतालको भवन निर्माण सम्पन्न

तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरेनरी अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा निर्माण शुरु भएको अस्पतालको भवन निर्माण सम्पन्न भएको हो ।

बन्दीपुर गाउँपालिका–१ नाहालामा गत भदौदेखि अस्पताल भवन निर्माण शुरु भएको थियो । रु ९८ लाख ६१ हजार ४४९ को लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । भवन निर्माणको ठेक्का व्यास नगरपालिका–२ स्थित सिएम निर्माण सेवाले पाएको थियो ।

उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरेनरी अस्पताल अति आवश्यकता थियो । “पशुको उपचार गराउनुप¥यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहजरूपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्”, पोख्रेलले भन्नुभयो ।

उक्त अस्पतालमा पशु चिकित्सकको दरबन्दीमा कर्मचारी खटिनेछन् । अस्पताललाई बन्दीपुर गाउँपालिका मातहत राख्न तयारी थालिएको छ । गाउँपालिकाको पशु शाखा नै यही भवनमा स्थानान्तरण गर्न लागिएको पोख्रेलले बताउनुभयो । “भवनको सम्पूर्ण काम सकिएको छ, ठेकेदारबाट हस्तान्तरण भएलगत्तै बाँकी काम थाल्छौँ”, उहाँले भन्नुभयो ।

भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो । गाउँपालिकाको पशुपक्षी शाखाको नाममा करिब रु ७५ लाख मूल्य बराबरको जग्गादान गर्नुभएको थियो । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरेनरी अस्पताल निर्माणका लागि पहल भए पनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन ।

सशस्त्र प्रहरीको सहयोगमा डढेलो नियन्त्रण

तनहुँको भानु नगरपालिका–४ स्थित आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल २३ नं मनकामना गणबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो । प्रहरीले स्थानीयवासीसँग सहकार्य गरेर वनमा लागेको डढेलो नियन्त्रणमा लिएको हो । डढेलो नियन्त्रणका लागि गणका प्रहरी निरीक्षक तुलसीराम केसीको नेतृत्वमा ३७ प्रहरी खटिएको प्रहरी उपरीक्षक सञ्जय भट्टराईले जानकारी दिनुभयो ।

हिउँदयाम शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय तनहुँले स्थानीयस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ । चैत–वैशाखयाममा वन जङ्गलमा अत्यधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिमसमेत गठन गरिएको छ ।

“यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौँ”, उहाँले भन्नुभयो, “डढेलो लागेको थाहा पाउनेबित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।” वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताउनुभयो । “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।”

जिल्लामा रहेका आठवटा सबडिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन रहेका छन् । रासस