यहाँबाट धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धौलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।
संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताउनुभयो ।
‘‘रघुगङ्गाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘पर्यटन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जङ्गलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’’
कुइने मङ्गलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जङ्गल र पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसियशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धौलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।
पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताउनुभयो । सातदेखि दश दिनमा यसको भ्रमण गर्न सकिन्छ । धौलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामाकरण गरिएको हो ।
म्याग्दी र मुस्ताङ जोड्ने पुरानो पैदलमार्ग बेनी–जोमसोम सडक सञ्चालन भएसँगै विस्थापित बनेको थियो । त्यसको विकल्पमा नयाँ पदमार्ग विकास गर्न थालिएको हो । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालीज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र तीनको बासस्थान यस पदमार्गका आकर्षण हुन् ।
धौलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धी, रोजगारी सिर्जना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खानेबस्ने सुविधाका लागि निजी क्षेत्रको लगानी भित्र्याउन र प्रर्वद्धनात्मक गतिविधिमा जोड दिएको उहाँले बताउनुभयो ।
यसैगरी म्याग्दी उद्योग वाणिज्य सङ्घले रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्केदेखि रघुगङ्गाको झिँ–पाखापानी–रायखोर–घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर जोड्ने अर्को पदमार्ग समेत पहिचान गरेर नक्शा तयार पारेको छ ।
गाउँपालिकाले दुबै पदमार्ग सञ्चालन गरेर पर्यटक भित्र्याउने तयारीमा जुटेको छ । पदमार्गको प्रचारप्रसारका लागि चालू आर्थिक वर्षमा रुइसेमा महोत्सव सञ्चालन गर्न बजेटसमेत विनियोजन गरेको छ । पदमार्गको अध्ययनका लागि आधार शिविर पुगेर फर्किएका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं प्रतिनिधिसभा सदस्य थपमाया थापाले म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई विकास गर्न लागिएको बताउनुभयो ।
‘‘ यस पदमार्गको अत्यन्तै सम्भावना रहेछ, केही ठाउँमा अझै पदमार्ग बनाउन बाँकी नै रहेको पाइयो, पदमार्ग, आवासगृहलगायत पर्यटन पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारमार्फत आवश्यक पहल गर्छु’’, पूर्वमन्त्री थापाले भन्नुभयो । रासस
प्रतिक्रिया