बृहत् लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आउँदै

बृहत् लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत् लिफ्टिङ खानेपानी आयोजनाबाट करीब एक हजार पाँच सय घरधुरी लाभान्वित हुने भएका छन् ।

सो क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएपछि त्यसलाई मध्यनजर गर्दै सङ्घीय सरकारको रु तीन करोड विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो । व्यास ९, १० र ११ को सिमानामा पर्ने चिसापानीबाट पानी ल्याएर लिफ्टिङ गर्न लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

लिफ्टिङ गरिएको पानी सङ्कलन गर्नका लागि देवीडाँडामा पाँच लाख लिटर क्षमताको रिर्जभ ट्याङ्की निर्माण कार्य थालिएको उहाँले बताउनुभयो । चिसापानीबाट करीब एक हजार २०० मिटर दूरीबाट पाइपमा ल्याइएको पानीलाई देवीडाँडासम्म लैजानका लागि करीब २६५ मिटर उचाइमा लिफ्ट गरिने जनाइएको छ ।

देवीडाँडामा रिर्जभ ट्याङ्की निर्माण गरेपछि बस्तीअनुसारको आठ वटा शाखा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । उक्त आयोजना सम्पन्नपश्चात् त्यस वडाका अँधेरीभञ्ज्याङ, दुम्सीकोट, दुम्सीचौर, बरचौर, शितलगुफा, नयाँ बस्तीलगायतका क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

उक्त आयोजनाको निर्माणका लागि ग्यालेक्सी कन्ट्रक्सन प्राली चितवनले जिम्मा पाएको छ । दुई वर्षीय योजना रहेकाले विसं ०७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजना सम्पन्नपश्चात् त्यस क्षेत्रका बासिन्दाले प्रशस्तमात्रामा पानीको प्रयोग गर्न पाउने गरी आयोजनाको कार्य अघि बढाइएको छ ।

दुम्सीचौर टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर दरैले पानीको साह्रै दुःख भोग्नुपरेको हुँदा आयोजना सम्पन्नपछि पानीको समस्या समाधान हुने अपेक्षा गरिएको बताउनुभयो ।