पत्रकारितासँगै व्यावसायिक बङ्गुरपालनमा आकर्षित बुढा

पत्रकारितासँगै व्यावसायिक बङ्गुरपालनमा आकर्षित बुढा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विगत लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका कैलालीको भजनी नगरपालिका–२ कटानपुरका जयबहादुर बुढा अहिले पत्रकारितासँगै कृषिकर्ममा लाग्नुभएको छ । जीवनको ऊर्जावान समय पत्रकारितामा बिताउनुभएका बुढा अहिले भजनी क्षेत्रको सफल कृषकका रूपमा स्थापित हुँदै जानुभएको छ । छोटो समयमा उहाँले बङ्गुरपालन व्यवसायबाट राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, अन्य थुप्रैलाई पेशामा आकर्षितसमेत गराउनुभएको छ ।

कुनै बेला कैलाली जिल्लाको सदरमुकाम भएको भजनी मिडिया क्षेत्रमा भने अगाडि बढ्न नसकेको अवस्थामा बुढाले व्यावसायिक पत्रकारितालाई अगाडि बढाउने अठोट गरेको बताउनुहुन्छ । भजनी क्षेत्रमा अझै पनि पत्रकार छैनन् । त्यहाँ अहिलेसम्म स्थानीय मिडियाको पनि त्यति पहँुच पुग्न सकेको छैन । भजनी नगरपालिकाबाट पहिलोपटक बुढाले साप्ताहिक पत्रिका सञ्चालनमा ल्याउनुभएको थियो ।

विसं २०६३ मा क्याम्पस पढ्दा कैलालीको स्थानीय दैनिक पत्रिकामा समाचारदाताका रूपमा काम थाल्नुभएका बुढाले एफएम रेडियो हुँदै पछि आफैँ साप्ताहिक पत्रिकाको प्रकाशक बन्नुभयो तर त्यही पेशालाई थप अगाडि बढाउन आफैँले अठोट गरे पनि पत्रकारिताबाट मात्रै आधारभूत आवश्यकता पूरा नहुने भएपछि कृषि पेशालाई पनि अँगाल्न पुग्नुभयो । पत्रकारितासँगै डेरी उद्योग सञ्चालनमा ल्याउनुभएका बुढा त्यससँगै बङ्गुरपालन शुरु गरेको बताउनुहुन्छ । “डेरीमा खेर गएका वस्तु व्यवस्थापन गर्न बङ्गुरपालन शुरु गरेको थिएँ”, बुढाले भन्नुभयो, “कान्द्रा नदीछेउमा रहेको सात कठ्ठा जग्गामा बङ्गुरका लागि खोर निर्माण गरी बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालि दर्ता गरेँ, खोरमा २५ वटा पोथी र दुई भाले बङ्गुर राखेर व्यवसाय शुरु गरेको हुँ ।”

रु १५ लाखमा दुई कठ्ठा जग्गा खरिद गरेका बूढाले पाँच कठ्ठा जग्गा लिजमा लिनुभएको छ । वार्षिक १४ प्रतिशत ब्याजदरमा ऋण लिएर सामान्य खोर बनाएर बङ्गुरपालन शुरु गर्नुभएका बुढाले विसं २०७६ मा सात प्रतिशत ब्याजदरमा रु ४८ लाख कृषि ऋण लिएको बताउनुभयो । बङ्गुरफार्ममा १५ महिनाको अवधिमा करिब ९०० पाठापाठी उत्पादन हुँदै आएका छन् । “फार्ममा मसँग ३० वटा माउ बङ्गुर छन् । पन्ध्र महिनाको अवधिमा एउटाले १०० पाठापाठी दिन्छ”, बुढाले भन्नुभयो, “बजारको माग अझै पूरा गर्न सकिएको छैन । उत्पादन हुनुभन्दा पहिले नै बुकिङ भइहाल्छ ।” उहाँले १५ महिनामा रु ४० लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँदै करिब रु २० लाख बचत गर्न सफल भएको बताउनुभयो ।

“एउटा बङ्गुरको मासुबाट रु ३० हजारसम्म आम्दानी हुन्छ, बङ्गुरको पाठाको मूल्य बढेको छ”, बुढाले भन्नुभयो, “एउटा पाठापाठी रु पाँच हजारमा बिक्री गर्छु भने श्रमिक, दाना अन्य उपचार खर्च कटाएर रु २० लाखभन्दा बढी आफूलाई आम्दानी हुने गरेको छ ।” उहाँले अन्य पत्रकारितामा लागेकाहरुलाई पनि त्यसैको पछि लागेर भविष्य नबन्ने भन्दै कुनै न किनै व्यवसायको पाटोमा जोडिन आग्रहसमेत गर्नुभएको छ । “पत्रकारिता एक नशाजस्तै रहेछ, आम्दानी छैन तर पनि छोड्न सकिँदैन”, बुढाले भन्नुभयो, “समाजमा पत्रकार भनेर सम्मानचाहिँ पाइन्छ तर घरको अवस्था कहालीलाग्दो हुने हुँदा पत्रकारितालाई ‘साइड’ पाटोमा राखेर व्यवसाय गर्नुको विकल्प म देख्दिनँ ।”

उहाँलाई भजनी नगरपालिकाले पनि राम्रो सहयोग गरेको छ । आर्थिक तथा प्राविधिकरूपमा नगरपालिकाको सहयोग रहेको बताउँदै बुढाले भन्नुभयो, “गत वर्ष ५० प्रतिशत अनुदानमा नगरपालिकाले खोर सुधारमा रु आठ लाख सहयोग गरेको थियो । बङ्गुरमा कुनै समस्या आए नगरपालिकाको पशु शाखाका प्राविधिक तुरुन्त फार्ममा पुग्नुहुन्छ ।” उहाँले अन्य निकायबाट पनि व्यवसायमा सहयोग पाइरहेको बताउनुभएको छ ।