२०७२ सालको वैशाख १२ गते साथीसँग धरहरा चढ्न पुगिन् रमिला श्रेष्ठ । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू सानो सानो किरिङमिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो ।
आफ्नो घर रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथिबाट काठमाडौं हेर्दा मज्जा लागिरहेको थियो । तर, धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन । क्षणभर मै जीवनमा नविर्सने धरहरा चढाई भयो ।
धरहराको टुप्पोबाट शहर नियाल्दै गर्दा एक्कासि हावा चलेजस्तो लाग्यो उनलाई । डर लागेपछि उनी थुचुक्कै भुइँमा बसिन् । धरहरा हल्लिएसंगै उनि बेहोस भइन । त्यसपछि के भयो उनलाई केहि थाहा छैन । होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै–जाँदै गरेको थियो । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ, रमिलालाई । खुट्टा चलाउन खोजिन्, तर खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन ।
प्रतिक्रिया