अव्यवस्थित बसोबास गर्नेको तथ्याङ्क सङ्कलन तीव्र

अव्यवस्थित बसोबास गर्नेको तथ्याङ्क सङ्कलन तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ९ वैशाख । माघ मसान्तसम्म अव्यवस्थित ४० हजार परिवारलाई लालपूर्जा वितरण गरिने मकवानपुर जिल्लाका वाग्मती, बकैयाँ, मकवानपुरगढी, मनहरी र हेटौँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा अव्यवस्थित बसोबास गर्ने सर्वसाधारण कृषकको ऐलानी जग्गाको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई अहिले तीव्रता दिइएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष रामेश्वर रानाले रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै मकवानपुरको आठ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिकासमेत गरी आगामी माघको मसान्तसम्ममा अव्यवस्थित बसोबासी करीब ४० हजार परिवारलाई क्रमशः जग्गाको लालपूर्जा वितरण गर्ने तयारीका साथ आयोगले निवेदनमाथि छानविन गरी आफ्नो कार्यसम्पादन अघि बढाएको बताउनुभएको छ ।

उहाँले जिल्लाको उत्तरी भेगमा पर्ने इन्द्रसरोवर, कैलाश, राक्सिराङ, भीमफेदी र थाहा नगरपालिका क्षेत्रमा बसोबास गरेका अव्यवस्थित बसोबासी, दलित र जनजातिले भोगचलन गर्दै आएको ऐलानी जग्गालाई आयोगकोतर्फबाट खटिएको प्रविधिकहरुले नापजाँच गर्ने र सम्बन्धित व्यक्तिलाई आवश्यक कागजपत्र बुझाउन ३५ दिने सूचना जारी गरिएको बताउनुभयो ।

अध्यक्ष रानाले मकवानपुर जिल्लामा अहिलेसम्म दश वटा सुकुम्बासी आयोग गठन भएपनि अझै ६० हजारभन्दा बढी अव्यवस्थित बसोवासीले जग्गाको लालपूर्जा प्राप्त गर्न सकेका छैनन् भन्नुभयो । हाल भूमि सम्बन्धी समस्या समाधान आयोगमा आज अपराह्नसम्ममा अव्यवस्थित जग्गाको दर्ता गरी लालपूर्जा पाउँ भनी स्थानीय गाउँपालिकामार्फत ४३ हजार वटा निवेदन प्राप्त भएको र सो निवेदनमाथि अब कुन प्रक्रियाबाट छानविन शुरु गर्ने भनेर आयोगको बैठक आगामी आइतबार बस्ने भएको भूमि सम्बन्धित समस्या समाधान आयोगका सदस्य तुलसी रिजालले बताउनुभएको छ ।

उहाँले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा बसोबास गरेका सर्वसाधारणले आफ्नो जग्गामा हकभोग चलन गर्दै आएको भए तापनि आफ्नो जग्गाको सिमानाभित्र पर्ने ऐलानी जग्गाको हकमा छुट दर्ता गर्ने क्रमलाई आगामी भदौको दोस्रो हप्ताबाट छुट जग्गा दर्ताको निवेदन माग गर्नेतर्फ भूमिसम्बन्धी समस्या समाधान आयोग केन्द्रले गृहकार्य गरिरहेकको बताउनुभयो ।

सदस्य रिजालले आयोगले जिल्लाको विभिन्न गाउँपालिकामा सर्वसाधारण जनताकोे वास्तविक जग्गाको नापजाँच गर्न र वन सिमाना छुट्याउने क्रममा छिट्टै प्राविधिक जनशक्ति टोली परिचालन गर्न लागिएको र आवश्यक जनशक्ति उपलब्ध गराउन सङ्घीय सरकारको प्रमुख जिल्ला अधिकारीलाई निर्देशित गरिसकिएको पनि जानकारी दिनुभयो ।

सो आयोगको कार्यालयको छुट्टै व्यवस्थापन गरी कार्य सम्पादनलाई तीव्रता दिन जिल्ला समन्वय समिति तथा प्रदेश सरकारसँग परामर्श भइरहेको आयोगका सदस्य रिजालले स्पष्ट पार्नुभयो । सो आयोगमा अहिले १० जना अधिकृतसहितको कर्मचारीको दरबन्दी रहेको भए पनि हाल दुई जना मात्र कर्मचारी प्राविधिक खटिरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभएको छ ।

वाग्मती प्रदेशका प्रमुख सचिव पौडेलबाट कार्यभार ग्रहण

सङ्घीय सरकारद्वारा वाग्मती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भई आउनुभएका प्रमुख सचिव मुकुन्द पौडलले आज कार्यभार सम्हाल्नुभएको छ । उहाँलाई मन्त्रिपरिषद् कार्यालयमा सचिव इन्दिरा अर्याललगायत विभिन्न मन्त्रालयका सचिवले स्वागत गर्नुभएको थियो । तत्कालीन प्रमुख सचिव डा मानबहादुर विश्वकर्माको उमेरहदका कारणबाट गत वैशाख ६ गते अवकाश लिनुभएको थियो ।

प्रमुख सचिव पौडेल केही महीनाअघिसम्म वाग्मती प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा कार्यरत हुनुहुन्थ्यो । रासस