तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा स्थापना

तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १० वैशाख । तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको आज व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै बैंकले सहज र सरल सुलभ व्यवसायी तथा सर्वसाधारणलाई सेवा दिन आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले राम्रा योजना छनोट गरेर बैंकले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडका कारण अप्ठ्यारोका परेका व्यवसायीलाई राहत दिने खालका योजना ल्याउन आग्रह गर्नुभयो ।

दमौलीमा विस्तार भएको शाखा १०३औँ शाखा हो । छब्बीस वर्ष पहिला स्थापना भएको बैंकको एघार लाख सन्तुष्ट ग्राहक रहेको बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा बैंकका १० वटा शाखा सञ्चालनमा छ । बैंकले घर कर्जा, सौगात बचत खाता, सवारी साधन कर्जा, नारी बचत खाता, शैक्षिक कर्जा लगायतका सेवा प्रवाह गरिरहेको छ ।

अपाङ्गता श्रीमान्को हेरचाह गर्ने नै आगोमा जलेपछि…

म्याग्दे गाउँपालिका–७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते हुनुभयो । पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्ण रुपमा अपाङ्गता हुनुभयो । यसयता उहाँ ओछ्यानमा थला पर्नुभएको छ ।

भण्डारीको हेरचाह तथा पालनपोषण श्रीमती कल्पना पौडेल भण्डारीले गर्दै आउनुभयो । श्रीमान्को रेखदेख, हेरचाह र परिवारको पालनपोषणको जिम्मेवारी पनि कल्पनाको काँधमा आइलाग्यो । घरमै पसल सञ्चालन गरी परिवारको गुजारा चलाउँदै आउनुभएकी कल्पनाको जीवनमा गत वैशाख ३ गते दोस्रो ठूलो बज्रपात आइप¥यो । ग्यास पड्किएर घरमा आगलागी हुँदा कल्पनाको शरीरका विभिन्न भाग जलेको छ ।

श्रीमान्को हेरचाहमा व्यस्त हुनुपर्ने उहाँ आफैँ उपचारका लागि अस्पताल भर्ना हुनुपरेको छ । उहाँको हाल गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । अरुको सहराबिना शरीर चलाउन तथा दैनिक कार्य गर्न नसक्ने अवस्थामा श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपिएका दीपकले बताउनुभयो । “एकातिर आफ्नो पीडा त छँदै थियो, श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपियो”, उहाँले भन्नुभयो, “हेरचाह गर्ने मान्छे नहुँदा मलाई पनि समस्या भइरहेको छ ।”

उहाँले श्रीमतीको उपचारका लागि आर्थिक अभाव भएपछि सबैसँग सहयोगको अपिल गर्नुभएको छ । “घरमा पसल सञ्चालन गरेर गुजारा चलिरहेको थियो, श्रीमती नै घाइते भएपछि उसको उपचारका लागि पनि पैसा छैन,” भण्डारीले भन्नुभयो, “सबैले सहयोग गरिदिए छिटो निको हुन्थ्यो की ।”

यसैबीच अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड) तनहुँले आगलागीबाट घाइते कल्पनाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । रिसेडका अगुवा ईश्वर बाँस्तोला र किशोर न्यौपानेले उहाँको उपचारका लागि रु ६ हजार आर्थिक सहयोग गर्नुभएको छ । संस्थाका अध्यक्ष पदमबहादुर परियारले कल्पनाको उपचारका लागि आवश्यक समन्वय तथा सहयोग गरिरहनुभएको छ ।

कल्पनाको उपचारका लागि सहयोग गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थाहरुले मुक्तिनाथ विकास बैङ्कको ००७२०६००१०५१२६०००००१ खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

अग्निपीडितलाई गाउँपालिकाको राहत

घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्तबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार खाद्यान्न तथा नगद प्रदान गरेको हो ।

गत चैत ३१ गते घर जलेपछि भुजेल परिवार टहरोमा बस्दै आएको छ । हावाहुरी र पानी आउँदा भुजेल परिवारलाई समस्या पर्दै आएको छ । गाउँपालिकाले पीडित परिवारलाई दुई बोरा चामल, एउटा त्रिपाल, पाँच केजी दाल, दुई पोका नून, दुई लिटर तेल र रु २५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । त्यस्तै पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु २० हजार प्रदान गरेको छ ।

जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर भुजेल परिवार यतिबेला दैनिकी गुजारिरहेको छ । संयुक्त यस परिवारमा सात जना सदस्य छन् । भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलको पहलमा सोमबार खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो । पीडितको घर निर्माणका लागि जस्तापाता जुटाउने अभियान पनि शुरु भएको उहाँले जानकारी दिनुभयो । रासस