चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–नरेन्द्रसिह कार्की

जिल्ला अस्पताल दार्चुलामा चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ ।

डा आर्दश लिम्बू नेतृत्वको टोलीले नौगाड गाउँपालिका¬–४ का १७ वर्षीय गोविन्दसिंह धामीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

पेट दुख्ने, ज्वरो आउने भएको लामो समय भएपछि धामी उपचारका लागि अस्पताल आउँदा उहाँमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका डा आदर्श लिम्बु, एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र, डा देवेन्द्र नेगी, स्क्रब नर्स लक्ष्मी धामीलगायत टोलीले एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

अहिले आएर लिम्बू नेतृत्वको टोलीले एक पटक पुनः जिल्लामै सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पताल दार्चुलाका नायब सुब्बा आनसिंह डागाले जानकारी दिनुभयो । धामीको जिल्लामै सफल शल्यक्रिया भएपछि बिरामीका आफन्त पनि खुशी भएका छन् । “सफल शल्यक्रिया हुनु भनेको जिल्लामै पनि स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ भन्ने हो”, उहाँले भन्नुभयो ।

अस्पतालका अनुसार पछिल्लो तीन महिनामा गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ भने हर्निया, हाइड्रोसिल र हार्डजोर्नीको पनि सफल शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । आर्थिक अभावले बाहिर लग्न सक्ने अवस्था नभएपछि परिवारको सहमतिमा नै जिल्लामै अप्रेशन गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

दार्चुलालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आज दार्चुलालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिद्वारा आज महाकाली नगरपालिकाको सभाहलमा आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला भएको घोषणा गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य बोहराले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।”

जिल्ला समन्वय समिति तथा जिल्ला पूर्ण खोप समन्वय समिति दार्चुलाका संयोजक करवीरबहादुर कार्कीेले दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा सबै स्थानीय तहका जनप्रतिनिधि र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

जिल्लाका नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।

भट्टका अनुसार २०७३ सालबाट जिल्लालाई निरन्तर रुपमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै आएको बताउनुभयो । दार्चुलामा १६ देखि २३ महिनाका कूल एक हजार ७०३ जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । हाल जिल्लामा ४१ खोप केन्द्रबाट नियतिमरुपमा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । यी खोप केन्द्रबाट झण्डै दुई हजार ९४४ बालबालिका नियमितरुपमा खोप लिइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार व्यासमा १४४, दुहुँमा १६१, महाकाली नगरपालिकामा २५१, नौगाड गाउँपालिकामा २१५, मार्मा गाउँपालिकामा १८७, अपिहिमाल गाउँपालिकामा ८३, शैल्यशिखर नगरपालिकामा २७९, लेकम गाउँपालिकामा २०४ र मालिकार्जुन गाउँपालिकामा १७९ बालबालिका रहेको कार्यालयले जनाएको छ ।

बालविवाह रोक्ने अभियानमा बालक्लब

बालक्लबहरु बालविवाह रोक्ने अभियानमा लागेका छन् । मालिकार्जुन गाउँपालिकालालाई २०८० सालभित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुसार बालक्लवहरु बालविवाह रोक्ने अभियानमा लागेका हुन् ।

बालविवाहका कारण समग्र मानव जीवनमा समस्या पार्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा लागेको मालिकार्जुन गाउँपलिका–८ शङ्करपुर बालक्लबका अध्यक्ष दीपकसिंह धामीले बताउनुभयो ।

गुड नेवर्स इन्टरनेशनलको सहयोग, सामुदायिक ग्रामीण विकास समाज नेपालको सहजीकरण तथा मालिकार्जुन गाउँपालिकासँगको समन्वयमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिँदै छ ।

गाउँपालिकालाई बालविवाह मुक्त गर्न सबै निकायको सक्रिय सहभागिता र सहयोग चाहिने बालक्लबका पदाधिकारी बताएका छन् । गाउँपालिकामा अहिले पनि बालविवाह भइरहेको कारण चुनौती थुप्रै रहेको मालिकार्जुन गाउँपालिका महिला शाखा प्रमुख आरती शर्माले बताउनुभयो । अहिले पनि महिला शाखामा ५÷६ वटा बालविवाहसम्बन्धी उजुरी परेको छ । हामीले उजुरीमाथि छानबिन थालेका छौँ उहाँले भन्नुभयो । बालक्लबको सक्रियतामा उजुरी पढ्न थालेका छन् ।

अहिले बालविवाहसम्बन्धी एउटा उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको छ । गत वैशाख २ गते जिल्ला प्रशासनमा बालविवाह उजुरी परेको थियो । प्रशासनले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय दार्चुलालाई यर्थाथ छानबिन गर्न पत्रचार गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरमार्फत बालविवाह भए नभएको जाँच गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “मालिकार्जुन गाउँपालिका–८ का एक बालिकाको शैल्यशिखर–७ मा विवाह भएको भन्ने जानकारी आएको छ । अहिले बालविवाह भए नभएको बारेमा अनुसन्धान भइरहेको छ ।”

मालिकार्जुनमा गुड नेवर्सले अभिभावकहरुलाई बालविवाह गराउनु हुन्दैन भन्ने सन्देश प्रवाह गरिरहेको छ भने वडा वडा र विद्यालयमा गठन भएका बालक्लब तथा किशोरी समूहलाई बालविवाह गर्नु हुँदैन भन्नेबारे अभिमुखीकरण र प्रशिक्षण भइरहेको सामुदायिक ग्रामीण विकास समाज नेपालका सामाजिक परिचालक वसन्ती धामीले बताउनुभयो ।

गुड नेवर्सअन्तर्गत मालिकार्जुन गाउँपालिकाका आठवटै वडामा बालविवाह अन्त्यका लागि कार्यक्रम भइरहेको छ । रासस