वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक जनआन्दोलन–२ को सफलतासँगै बहाली भएको लोकतन्त्र फराकिलो राजमार्ग हुँदै देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताउनुभएको छ ।
लोकतन्त्र दिवस–२०७८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै एक चरणको राजनीतिक अधिकार प्राप्तिको आन्दोलन निष्कर्षमा पुगेको र अधिकारका लागि लड्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो । सन्देशमा उहाँले भन्नुभएको छ, “अब हाम्रो एउटै कार्यभार समृद्ध नेपाल, सुखी नेपाली को जनआकाङ्क्षा सम्बोधन गर्नु हो । प्रदेश सरकार यसका लागि अथक प्रयत्नशील रहँदै आएको सर्वविदितै छ ।”
मुख्यमन्त्री पौडेलले त्यसो त व्यवस्थासँगै अवस्था बदल्न सक्दा मात्र परिवर्तनको दिगोपना सुनिश्चित गर्न सकिन्छ भन्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “व्यवस्थाप्रति आस्था र जनविश्वास बढाउन सकिन्छ । अन्यथा घोषणामा हुने परिवर्तनले जनताको जीवनमा कुनै अर्थ राख्दैन । त्यसैले प्रदेश सरकारको सम्पूर्ण प्रयास जनताले दैनिक जीवन व्यवहारमा महसुस गर्ने गरी परिवर्तनको अनुभूति गराउने दिशामा लक्षित छन् ।”
मुख्यमन्त्री पौडेलले विसं २००७ देखि हालसम्म भएका लोकतान्त्रिक आन्दोलनमा थुप्रै नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नो अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्नुभएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने महान शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्नुभयो । उहाँले परिवर्तनको खातिर शहीदले देखेका सपनालाई यथार्थतामा बदल्ने सङ्कल्प एवं प्रतिबद्धता व्यक्त गर्दछु भन्दै उन्नत लोकतान्त्रिक अभ्यास, एकता र इमान्दार प्रयासबाट समृद्ध नेपाल, सुखी नेपाली जनआकाङ्क्षा पूरा गर्न सकिने बताउनुभयो ।
सन्देशमा मुख्यमन्त्री पौडेलले लोकतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ । रासस



प्रतिक्रिया