गलेश्वर, १८ वैशाख । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउन नदीजन्य वस्तुको स्थानान्तरण गरी नदी किनारामा ग्यावियन जाली भरेर पर्खाल लगाइएको छ । बगरफाँट क्षेत्रको रातढुङ्गाबाट पलाँसेसम्मको क्षेत्र नदी कटानका कारण उच्च जोखिममा परेको थियो । बस्ती संरक्षणका लागि नदी किनारका यस क्षेत्रमा ग्यावियन जाली लगाउनुबाहेक अर्को विकल्प नरहेकाले नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्यावियन जाली लगाइएको हो ।
नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले म्याग्दीका सांसद भूपेन्द्रबहादुर थापा र थममाया थापाको सिफारिशमा नदीमा ग्यावियन जाली लगाई बस्ती संरक्षणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेर गत फागुनदेखि काम शुरु भएको थियो । अहिले ग्यावियन भर्ने काम सम्पन्न भएको बगरफाँट बस्ती संरक्षण आयोजनाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।
विसं २०५७ मा नदीमा आएको बाढी र त्यसपछि निरन्तररूपमा नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि केही वर्षअघिदखि नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी हुनसकेको छैन । यसअघि गत जेठमा गण्डकी प्रदेश सरकारको रु ५० लाख लागतमा बगरफाँटको दूधेखोलाबाट बाङ्गेघरासम्म करिब दुई किलोमिटर क्षेत्रमा ग्यावियन जाली भरेर तटबन्ध गरिएको तर वर्षामा नदीमा आएको बाढीले ग्यावियन जाली बगाएपछि पुनः समस्या थपिएको हो ।
अध्यक्ष कार्कीका अनुसार नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवाबाट डम्मराको पुलसम्म ४०० थान जाली भरेर पर्खाल लगाइएको छ । करिब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयवासीले बताएका छन् ।
दुई वर्षअघि पनि स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुङ्गा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो । नदीले बगरफाँटको करिब १५० रोपनी क्षेत्रफल जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा छन् । रासस
प्रतिक्रिया