नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि कारागारमा कैदीबन्दी भेटघाट बन्द

नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि कारागारमा कैदीबन्दी भेटघाट बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २० वैशाख । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।

कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरू पमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

“हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन् ।” उहाँका अनुसार कारागारमा हाल दुई सय ६६ कैदीबन्दी छन् ।

जिल्ला कारागारमा केही समयअगाडि मात्रै नयाँ भवन निर्माण सम्पन्न भएको थियो । नयाँ भवन निर्माण सम्पन्न भएपछि केही हदसम्म कैदीबन्दी राख्न सहज भए पनि समस्या भने उस्तै छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ ।

ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैँटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

विसं २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ । सामान्य रूपमा भएको विवादको घटनामा रिसिइवी साँधेर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजीकार्य तीव्र पारेको जनाएको छ ।

नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने छ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न नदीमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले एक एक्साभेटर र पाँच ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

ऋषिङ गाउँपालिकाअन्तर्गत रहेको मादी नदी बगरमा बिना अनुमति बाटो बनाइरहेको अवस्थामा बा २ ख ६२४३ नम्बरको एक्साभेटरलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको एक्साभेटरलाई ऋषिङ गाउँपालिकाको कार्यालय बुझाइएकामा रु २२ हजार ५०० जरिवाना भएको छ ।

शुक्लागण्डकी–९ सुरौदीखोला नदी किनारबाट अवैधरूपमा गिट्टी बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ३०७० र ग १ त ३४२१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई नगरपालिका बुझाइएकामा रु १२ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै व्यास–५ चिन्तुटारस्थित मादी नदी किनारबाट अवैधरूपमा ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा ग १ त २६३४, ग १ त ३४७२ नम्बर र ग १ त ५०६३ नम्बरका ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि नगरपालिका बुझाइएकामा रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको छ । रासस