बट्टाईपालनमा युवा आकर्षित

बट्टाईपालनमा युवा आकर्षित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उहाँको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल हुनुभएको छ ।

रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका मानबहादुर एक कुशल कलाकारका साथै प्रखर वक्ताको रुपमा पनि चिनिनुहुन्छ । अहिले उहाँको परिचय त्यतिमा मात्र सिमित छैन, एक व्यावसायिक किसानको रुपमा पनि चिन्न थालिएको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका–३ मनकामनाका मानबहादुर भण्डारी बट्टाईका साथ । उहाँले व्यावसायिक रुपमै बट्टाई पालन गर्नुभएको छ । बट्टाई पालनबाट मनग्य आम्दानी हुँदै आएको छ । तस्वीर ः मेनका चौधरी÷रासस

लामो समयदेखि राजनीतिमा लाग्नुभएका मानबहादुरको ध्यान अब आर्थिक उपार्जन गरी समाज परिवर्तनतर्फ सोझिएको छ । राजनीतिमा लाग्नेहरुले पनि उत्पादनमा लाग्नु पर्ने उहाँको धारणा छ । आफूले कृषिलाई व्यावसायिक बनाएर लैजाँदै गर्दा आफ्नो घरखर्च जुटाउन सकिने र अरुका लागि पनि उदाहरण बन्ने भएकाले पनि आफू बट्टाईपालनतर्फ लागेको उहाँले बताउनुभयो । आफ्नै ह्याचरीसहित बट्टाईको चल्ला उत्पादनतर्फ लाग्नुभएका मानबहादुरले स्थानीय कुखुरा, हाास, टर्की, कडकनाथको पालनलाई पनि विस्तारै बढाउँदै लैजाने उहाँको तयारी रहेको छ ।

मानबहादुरले पाँच महिनाअघि गाउँघरबाट बट्टाईका माउ र भाले सङ्कलन गरी व्यवसायको शुरुआत गर्नुभएको हो । शुरुमा ६०० देखि शुरुवात गर्नुभएको उहाँले पछि ३०० थपेर व्यावसायिक यात्रालाई अघि बढाउनुभएको हो । अहिले उहाँसँग तीन हजार बढी बट्टाई छन् । दुई चरणमा ५५० वटा बट्टाई त उहाँले विक्री पनि गरिसक्नुभएको छ । एक जोडीलाई रु ३०० मा विक्री गर्न गरेको उहाँले बताउनुभयो । बजारको समस्या नभएको उहाँको भनाइ छ । चल्ला, बयस्कदेखि बट्टाईका अण्डा पनि सहजै विक्री हुने गरेको छ । उहाँका अनुसार ग्राहकहरु घरमै आएर किन्ने गर्दछन् ।

तीन हजार २४० क्षमता भएको ह्याचरी घरमै रहेकाले पनि चल्ला निकाल्न उहाँलाई कुनै समस्या छैन । उक्त बट्टाईपालन तथा ह्याचरी सञ्चालनमा हालसम्म रु आठ लाख जति लगानी भइसकेको उहाँ बताउनुहुन्छ । बट्टाईका चार वटा जातहरु उहाँसँग रहेका छन् । बट्टाईपालनलाई थप बढाउन युवा नेता तथा किसान मानबहादुरले नयाँ योजना बनाइसकेको र छिटै विभिन्न जिल्लामा यसको उत्पादन पु¥याउने योजना बनाउनु भएको छ । मानबहादुरलाई यो व्यवसायमा परिवारबाट पनि पूर्ण रुपमा सहयोग मिलेको छ । उहाँ भन्नुहुन्छ, “परिवारको सहयोग नहुने हो भने एक्लो व्यक्रिले चाहँदैमा केही गर्न सकिंदैन ।”

उत्पादन दिनहुँ बढ्दै जाँदा बजारको अभाव हुने हो कि भन्ने डर मानबहादुरलाई लागिरहेको छ । छोटो समयमा यति राम्रो व्यवसाय सञ्चालन गर्न सकेकामा उहाँ निकै खुशी देखिनुहुन्छ । उहाँको घरमा फार्म हेर्न र उत्पादित बट्टाई र अण्डा खरीद गर्न टाढाटाढाबाट पनि मानिस आउने गरेका छन् । बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उहाँको भनाइ छ ।

बट्टाईपालन शुरु गर्नुअघि नजिकैको ज्ञानोदय नमूना माविमा मानबहादुरले चमेना गृह सञ्चालन गर्दै आउनु भएको थियो । गत वर्ष लामो समय कोरोना कहरका कारण बन्दाबन्दी हुँदा विद्यालय पनि नियमित सञ्चालन नभएपछि मानबहादुरले कृषि व्यवसाय रोज्नु भएको हो । “पहिलेदेखि नै यस व्यवसायतर्फ मेरो ध्यान गएको थियो तर कोरोनाले गर्दा यसतर्फ लाग्न प्रेरित ग¥यो”, उहाँ भन्नुहुन्छ, “कोरोना मेरा लागि व्यवसायमा लाग्ने अवसर बन्यो ।”

थोरै लगानीबाट पनि छोटो अवधिमै आम्दानी गर्न सकिने भएकाले अन्य युवालाई पनि उहाँ यसतर्फ लाग्न प्रेरित गर्नुहुन्छ । ‘‘पालेको डेढ÷दुई महिनामै बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु घरमै आउँछन्’’, मानबहादुरले भन्नुभयोे, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गर्न भ्याएको छु ।’’रासस