नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटि बैठक बोलाएका छन। ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकले सम्भवत माधव कुमार नेपाल समूहका सांसदहरुलाई का.रबाहीको सिफारिश गर्ने निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २७ वैशाखमा प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि नयाँ राजनीतिक घटना विकास भएको छ । यही सन्दर्भमा बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ । नेता सुवास नेम्वाङका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा कोरोना महामारीका विषयमा पनि छलफल हुने बताइएको छ ।
०००
कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई
बनेपा, २३ वैशाख । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।
शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ । सङ्क्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा शव बाहन नभएको हुँदा शव व्यवस्थापनका लागि जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी शव बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ ।
सङ्क्रमितको सङ्ख्या ७०० नाघ्यो
काभ्रेपलाञ्चोकमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ । जिल्लाका विभिन्न पालिकामा गरी बुधबार एकै दिन १५८ जनामा सङ्क्रमण पुष्टि भएपछि अहिलेसम्मको सक्रिय सङ्क्रमितको सङ्ख्या ७६८ पुगेको छ । तीमध्ये विभिन्न अस्पतालको आइसोलेशनमा ५८ र होम आइसोलेशनमा ७४३ रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या बनेपा नगरपालिकामा ३०१ पुगेको छ । धुलिखेल नगरपालिकामा १५८, पनौती नगरपालिकामा १५०, पाँचखाल नगरपालिकामा ६०, नमोबुद्ध नगरपालिकामा २८ र मण्डनदेउपुर नगरपालिकामा १९ जना सङ्क्रमित रहेका छन् । जिल्लामा सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको नगरपालिकाहरुले जनाएका छन् । रासस
०००
शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।
सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया