वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा निधन

वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, २३ वैशाख । वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।

पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो । उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् ।

विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ ।

उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो । उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस