वरिष्ठ गायक प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

वरिष्ठ गायक प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको जनाउनुभएको छ । सभामुख सापकोटाले आज अपराह्न ट्वीट गर्दै प्रधानप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधानले पु¥याएको योगदान स्मरणीय रहने जनाउनुभएको छ । प्रधानको आज वसुन्धरास्थित न्युरो अस्पतालमा छातीको उपचारका क्रममा निधन भएको थियो ।

प्रधानले ७०० भन्दा बढी गीत रेकर्ड गराउनुभएको छ । उहाँका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत थुप्रै गीत चर्चित छन् । उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि स्रोताले बिर्सेका छैनन् ।

प्रधानको आज ८४ वर्षका उमेरमा निधन भएको हो पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो । पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ ।

उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो । उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस