जग्गा प्रकरणमा थुनामा रहेका बस्न्यातलाई रु पाँच लाख धरौटीमा रिहा आदेश

जग्गा प्रकरणमा थुनामा रहेका बस्न्यातलाई रु पाँच लाख धरौटीमा रिहा आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाँै, २४ वैशाख । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई रु पाँच लाख धरौटी लिई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलाशले बन्दीप्रत्यक्षीकरणका निवेदनमा विशेष अदालतको आदेशबाट थुनामा रहनुभएका बस्न्यातलाई उक्त रकम लिई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।

कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएको र मुटु रोगीसमेत भएको हुँदा धरौटीमा रिहा भई मुद्दा लड्न पाउनुपर्ने माग गर्दै यही वैशाख १७ गते उहाँका ज्वाइँ प्रज्वल अधिकारीले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन मुख्य भूमिका निर्वाह गरेको आरोपमा बस्न्यातविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा दर्ता गरेका अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध विसं २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । रासस