आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय

आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वनेपा, २५ वैशाख । जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहर फैलिएपछि काभ्रेपलाञ्चोकका नगरपालिका र गाउँपालिकाहरु आइसोलेसन व्यवस्थापन गर्न सक्रिय भएका हुन् ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा जनक बहुमुखी क्याम्पसमा ४० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सीमित जनशक्ति एकीकृत रुपमा परिचालन गरी आइसोलेसनमा बस्ने बिरामीको सेवा प्रभावकारी बनाउन दुई पालिकाबीच सहमती गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ । आइसोलेसनका सबै शय्यामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । दुबै पालिकाबाट एक÷एक चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने बिरामीको अनुपातमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइने छ । सो केन्द्रमा एक जनाको उपचार भइरहेको छ । यसअघि सो केन्द्रमा २५ शय्या मात्र व्यवस्थापन गरिएको थियो ।

कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकाले पनि सङ्क्रमितको उपचारको लागि तीन ठाउँमा गरी १८ शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेसन केन्द्र व्यवस्थापन गरिरहेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार वडा नं. ५ को धुसेनी शिवालय प्राथमिक अस्पतालमा १०, वडा नं. २ को डिसीडब्लुसी अस्पतालमा ५ र वडा न.. ३ को धुलिखेल अस्पतालको आउटरिच केन्द्रमा ३ शय्याको आइसोलेसन कक्ष व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । शय्या व्यवस्थापनसँगै धुसेनी शिवालय प्राथमिक अस्पतालमा दुई र अरू अस्पतालमा एक एक गरी ४ जना एमबिबिएस डाक्टरलाई तयारी अवस्थामा राख्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले आवश्यक औषधि र अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी गरेको छ ।

त्यस्तै वनेपा नगरपालिकाको सक्रियतामा बनेपास्थित शिर मेमोरियल अस्पतालमा २० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ भने नगरपालिकाको वडा नं. ५ स्थित नेपाल वनेपा पोलिटेक्निक इन्ष्च्यिुटमा ५० शय्याको आइसोलेसन व्यवस्थापन गरिएको छ ।

पाँचखाल नगरपालिकाले पनि तामाघाट समाजकल्याण चोकमा स्वास्थ्य उपकरणसहित चिकित्सक तथा आवश्यक दक्ष स्वाथ्यकर्मीसहित १५ शय्याको आइसोलेसन कक्ष तयार गरिसकेको छ । अहिले पाँचखाल बाहेक वनेपा र नौविसेको आइसोलेसन केन्द्रमा कालीजंग गण धुलिखेलको नेपाली सेनाको टोलीले सुरक्षा दिँदै आएको छ ।

शुक्रवारसम्ममा जिल्लामा ७० सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९६४ पुगेको छ । वनेपामा ३७२, पनौतीमा २१५, धुलिखेलमा १८९, पाचखालमा ६६, मण्डनदेउपुरमा २७ र नमोबुद्ध नगरपालिकामा ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै रोशीमा २१, चौरीदेउरालीमा ८, तेमालमा ७, बेथानचोकमा १४, भुम्लुमा ८, महाभारतमा ३ र खानीखोला गाउँपालिकामा २ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । १६ जना भने शुक्रबार निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रासस