वन्यजन्तुलाई सहजताका लागि खानेपानीका पोखरी बनाउँदै आरक्ष

वन्यजन्तुलाई सहजताका लागि खानेपानीका पोखरी बनाउँदै आरक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा, २५ वैशाख । ढोरपाटन शिकार आरक्षका वन्यजन्तुलाई खानेपानीको सहजताका लागि पोखरी निर्माण शुरु गरिएको छ । ढोरपाटन शिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षमा आठवटा पोखरी निर्माण गर्ने भएको हो ।

आरक्षमै रहेका मुहान र खोल्साको उपयोग गरेर वन्यजन्तुलाई प्रयोग गर्न सहज हुने गरी पोखरी निर्माणको काम थालिएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । आरक्षका छवटा ब्लकमा पोखरी निर्माण हुनेछन् । सुनदह, स्याङ्ग, दोगाडे, घुस्तुङ र बार्से ब्लकमा पोखरी निर्माण हुनेछन् । त्यहाँ पानीको मुहान भएका भए पनि वन्यजन्तुको प्रयोगका लागि सहज छैन ।

खानेपानीको असहजताका कारण घण्टौँ हिँडेर वन्यजन्तुले पानीको प्रयोग गर्ने गरेको आरक्षको अनुमान छ । “वन्यजन्तुको विचरन क्षेत्रका आधारमा पोखरी बनाउन थालिएको हो”, कँडेलले भन्नुभयो, “शिकार आरक्षका वन्यजन्तुका लागि आहार, पानी र लुक्ने ठाउँको उपयुक्त व्यवस्थापन गर्नु हाम्रो दायित्व हो ।”

प्राकृतिक पोखरीजस्तै २५ देखि २७ मिटर लम्बाइ र २० देखि २२ मिटर चौडाइका पोखरी बन्नेछन् । एक मिटर गहिरो पोखरीमा वन्यजन्तुले सहजै पानीको प्रयोग गर्न सक्ने कँडेल बताउनुहुन्छ । पोखरीमा मुहानबाट आउने पानी सहज हिसाबले बग्ने गरी डिजाइन हुनेछ । “वन्यजन्तुले नयाँ पोखरी बनेको थाहा नपाउने गरी प्राकृतिक हिसाबमा पानीको प्रयोग गर्नेछन्”, उहाँले भन्नुभयो, “डुबेर नमर्ने र पानी नसुक्ने गरी पोखरीको डिजाइन गरिने छ ।”

पानीको उपयोग सहज हुँदा वन्यजन्तुको सङ्ख्या बढाउन सहज हुने उहाँको तर्क छ । पानी खोज्न हिँड्ने समय र पानीको अभावका कारण मृत्यु हुने वन्यजन्तुको सङ्ख्या घट्ने गरेकामा अब पोखरीको निर्माणले त्यो सङ्ख्या वृद्धि हुने विश्वास उहाँले गर्नुभयो । पोखरीले सुक्खा याममा सबैभन्दा धेरै वन्यजन्तुका लागि सहयोग पुग्ने छ ।

खोलामा प्राकृतिक हिसाबले बगेको पानीको उपयोग गर्न वन्यजन्तुलाई कठिन हुने गरेको आरक्षको बुझाइ छ । पानी भएर पनि जमेको पानी नहुँदा वन्यजन्तु तथा पक्षीहरुले समेत धित मर्ने गरी पानीको प्रयोग गर्न पाउँदैनन् ।

हिउँदको समयमा निकुञ्जभित्रका साना खोलाखोल्सी सुक्ने भएकाले पनि वन्यजन्तु पानीको खोजीमा मावन वस्ती क्षेत्रमा प्रवेश गर्ने समस्या पनि अब पोखरी निर्माणपछि समाधान हुने विश्वास गरिएको छ । यसरी वस्तीमा पसेर खेतीबाली खाइदिने, नोक्सान गरिदिने र कहिलेकाहीँ मानिस र घरपालुवा जनावर पनि मारिदिने समस्याबाट आरक्ष वरपरका वासिन्दा आजित बन्ने गरेका छन् । कतिपय जङ्गली जनावरको समेत चोरीशिकारी हुने गरेको आरक्षले जनाएको छ ।

जङ्गली जनावरलाई जङ्गलै रमाउने वातावरण बनाउनु पर्ने हुन्छ । यसो हुँदा तिनको संरक्षण पनि हुने र आरक्षा वरपरका वासिन्दा पनि सुरक्षित हुने भएकाले पाखेरी निर्माणलाई महत्व दिइएको प्रमुख संरक्षण अधिकृत कँडेल बताउनुहुन्छ । “बासस्थान सरल र सहज हुनुपर्छ तब मात्रै वन्यजन्तुले आफ्नो ठाउँ छोड्दैन”, उहाँ भन्नुहुन्छ, “हामीले हरेक वर्ष वन्यजन्तुका सहजताका लागि निर्माण गर्ने पूर्वाधारमध्येको एक योजना पोखरी निर्माणलाई राखेका छौँ । आठवटा पोखरी निर्माणका लागि शिकार आरक्षले रु १७ लाख ३४ हजार ७८४ खर्चिने छ । रासस