फिदिम र याङवरक समुदायमा ‘न्यू भेरियन्ट’ कोरोना भाइरसको सङ्क्रमण फेला

फिदिम र याङवरक समुदायमा ‘न्यू भेरियन्ट’ कोरोना भाइरसको सङ्क्रमण फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, २५ वैशाख । फिदिम नगरपालिका र याङवरक गाउँपालिकामा समुदायमा ‘न्यू भेरियन्ट’को कोरोना भाइरसको सङ्क्रमण फेला परेको छ । लामो समयदेखि जिल्ला बाहिर नगएका व्यक्तिमा कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । नगरपालिकामा फिदिम बजारका चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । याङवरकमा समेत पछिल्लो पटक भेटिएका तीन सङ्क्रमित जिल्ला बाहिर नगएको पाइएकाले समुदायमा सङ्क्रमण देखिएको हो । “सबैले त जिल्ला बाहिर गए÷नगएको बताउनुभएको छैन । तर धेरैजना सङ्क्रमणको लक्षण देखापर्ने समयमा जिल्ला बाहिर नगएको पाएका छौँ”, सुवेदीले भन्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयअनुसार बिहीबारसम्म जिल्लामा १२ सङ्क्रमित थिए । शुक्रबार २३ को एन्टिजेन परीक्षण गरिएकामा याङवरकमा तीन र नगरपालिकामा दुई सङ्क्रमित थपिएका छन् । शुक्रबार नै फालेलुङ–२ मा २२ को पीसीआर परीक्षणका लागि स्वाब लिइएको भए पनि नतिजा आउन बाँकी छ । शनिबार भने परीक्षण नभएको छैन । बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविकामा सङ्क्रमण देखिएपछि समुदायस्तरमा सङ्क्रमण देखिएको कार्यालयको भनाइ छ ।

समुदायस्तमा सङ्क्रमण देखिएको भन्दै स्थानीयवासीले परीक्षणको दायरा फराकिलो गर्न माग गरेका छन् । परीक्षण बढाउन स्वास्थ्य कार्यालयले २०० थान एन्टिजेन किट खरिद गरेको छ । “उपलब्ध किटले नधाने पनि तत्काललाई परीक्षण बढाउन लागेका हौँ”, सुवेदीले भन्नुभयो, “एन्टिजेन परीक्षणमा तत्कालै नतिजा आउने भएकाले पीसीआर परीक्षणलाई घटाउँदै लगेका छौँ ।” पीसीआर विधिबाट परीक्षण गर्न यहाँ सङ्कलन गरिएको स्वाब तराईका जिल्लामा पठाउनुपर्ने र त्यहाँ पालो कुरेर परीक्षण हुँदा ढिलो हुने गरेको छ ।

स्वास्थ्यमा समस्या हुने यहाँका सङ्क्रमितलाई प्राथमिक उपचार दिनेगरी अक्सिजन सहित १० बेडको आइसोलेशन जिल्ला अस्पतालमा तयार पारिएको छ । समुदायमा सङ्क्रमण हुनसक्ने भन्दै स्वास्थ्य कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न र सरकारी आग्रहअनुसार मात्रै मानवीय गतिविधि गर्न अपील गरेको छ ।

अक्सिजनसहित १० आइसोलेशन बेड तयार

पाँचथरमा अक्सिजनको सुविधासहित १० वटा आइसोलेशन बेड तयार पारिएको छ । जिल्लामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जटिल स्वास्थ्य समस्या पर्ने सङ्क्रमितको उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा आइसोलेशन बेड तयार पारिएको हो । जिल्ला अस्पतालको मातृशीशु क्लिनिकलाई स्थानान्तरण गरी आइसोलेशन तयार पारिएको हो । शुक्रबारदेखि सञ्चालनमा आएको आइसोलेशनमा जिल्ला अस्पतालमा मौज्दात अक्सिजन सिलिन्डर प्रयोग गरिएका छन् । जिल्ला अस्पताल पाँचथरका प्रमुख डा वुद्धिबहादुर थापाका अनुसार यहाँ तयार पारिएको आइसोलेशन ‘हाई डिफेन्स युनिट’ अर्थात् उच्च रक्षा एकाई मात्रै हो, जसले बिरामीको प्राथमिक चरणको उपचार गर्न सक्छ ।

सङ्क्रमितको सङख्यामा वृद्धि हुनु र समुदायमा सङ्क्रमण फैलिएको आशंका भएपछि तत्कालका लागि अक्सिजनको सुविधासहित आइसोलेशन तयार पारिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । चाँडै जिल्ला अस्पतालको आइसोलेशनको क्षमता बढाइने र सदरमुकाम फिदिममा अन्य दुई अस्पतालमा समेत अक्सिजन सहितको आइसोलेशन बेड तयार पारिने प्रजिअ ढकालले जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका प्रजिअ ढकालका अनुसार जिल्लाका सातै गाउँपालिकाले समेत आइसोलेशन तयार पार्न थालेका छन् । त्यहाँ जटिल समस्या देखिएका सङ्क्रमितलाई अक्सिजन सहितको आइसोलेशनमा राखिनेछ । यसका लागि जिल्लामा २० वटा एम्बुलेन्स तयार पारिएको उहाँले बताउनुभयो । प्रजिअ ढकालले उपचारात्मक प्रणाली सुधारका अतिरिक्त सङ्क्रमण रोकथामका गतिविधिलाई समेत प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले प्रथम चरणको उपचार केन्द्रले जटिल समस्या भएका सङ्क्रमितको उपचार र जीवन रक्षामा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले आइसोलेशन क्षमता वृद्धिमा निरन्तर प्रयास गरिने बताउनुभयो । जिल्ला अस्पतालमा चार थान भेन्टिलेटर भए पनि राख्ने स्थान र सञ्चालन गर्ने प्राविधिक नहुँदा समस्या परेको बताउनुभयो । यस्तै जिल्ला अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्यमा ढिलाई हुँदा सघन उपचार कक्ष निर्माण कार्य प्रभावित भएको समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष सापकोटाका भनाइ छ । रासस