विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछी राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन् ।
आज साँझ सूचना जारी गर्दै राष्टपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८/१/२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ।’
धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह
काठमाडौँ, २७ वैशाख । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेको छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र्र यादवले आज संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गर्नुभएको हो ।
‘ओली पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गर्दछौंँ’, तीन दलका नेताले जारीे गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव असफल
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव असफल भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको थियो । त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गर्नुभएको थियो । बैठकमा २३२ सांसद उपस्थित हुनुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।
विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव विफल भएको हो । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो । प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदात गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले विपक्षमा मतदान गर्नुभयो । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक पथ्र्याे । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।
एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ । रासस
प्रतिक्रिया