कोभिड व्यवस्थापनमा जुटे स्थानीय तह

कोभिड व्यवस्थापनमा जुटे स्थानीय तह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, २९ वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट पछिल्लो समयमा कर्णाली प्रदेश प्रभावित बन्दै गएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक ४० देखि ६० प्रतिशतका दरले बढ्दै गएको छ । गत असोजयता केही कम हुँदै गएको कोभिड–१९ पुनः चैतदेखि सक्रिय हुँदा नियन्त्रणमा आउन सकेको छैन ।

प्रदेश सरकारले कोरोना भाइरस प्रतिकार्य, नियन्त्रण, रोकथाम तथा उपचारका लागि गत वर्ष नै कोरोना विशेष अस्पतालका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी अस्पताल रुकुमपश्चिम स्थापना गरेको थियो । त्यसअनुसार प्रदेश अस्पतालमा हाल २००, प्रतिष्ठान जुम्लामा १२० र चौरजहारी अस्पतालमा १५ आइसोलेशन श्यया तयार गरिएका छन् ।

त्यस्तै यस प्रदेशका सबै जिल्ला गरेर ८९८ आइसोलेशन श्यया, १४७ आइसियु र ३५ भेन्टिलेटर छन् । कोरोना सङ्क्रमितमा ३४७ जना आइसोलेशनमा र होम आइसोलेशनमा तीन हजार ७५० जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पतालमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि रु एक÷एक करोड बजेट निकासा पठाइसकेको छ । यद्यपि कोरोना सङ्क्रमितको सबैभन्दा बढी चाप अहिले प्रदेश अस्पताल सुर्खेतमा छ । कोरोना सङ्क्रमण समुदायमा मात्र नभई प्रत्येक परिवार सदस्यसम्म फैलिँदै गएपछि स्थानीय तहले पनि आफ्नो तयारी थालेका छन् ।

प्रदेश राजधानीमा रहेको अस्पतालमा गम्भीर खालका कोरोना सङ्क्रमितको चाप बढ्दै गएपछि वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आवश्यक जनशक्तिसहित २५ श्ययाको कटकुवा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले चौबिसै घण्टा सेवा दिने गरी कोभिडका बिरामी बोक्न छुट्टै एम्बुलेन्सको व्यवस्था गरेको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो । नागरिकको जीउधनको सुरक्षाका लागि नगरपालिकाले आफ्नै कोभिड अस्पताल स्थापना गर्नु परेको उहाँले बताउनुभयो ।

उच्च हिमाली जिल्ला हुम्लामा ताजाकोट, सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाले पनि कोभिड नियन्त्रणको तयारी गरेका छन् । ताजाकोट गाउँपालिकाले कोभिड नियन्त्रणका लागि हुम्ला प्रवेश गर्ने मुख्य नाका कवाडीमा दुई स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखेको गाउँपालिका निमित्तप्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिनुभयो । “गाउँपालिकामा भित्रिएका नागरिकको कोरोना परीक्षण गर्न गाउँपालिकाले ५०० एन्टिजेन किट खरीद गरेको छ”, उहाँले भन्नुभयो, “पालिकामा पुगेका किट समुदायस्तरमा शङ्कास्पद व्यक्तिलाई एन्टिजेन विधिबाट परीक्षण गरिनेछ ।”

गाउँपालिकाले तत्काल आइसोलेशनका लागि श्यया बनाउने तयारी थालेको जनाउँदै उहाँले खरीद गरिएको आवश्यक सामग्री केही दिनभित्र पुग्ने बताउनुभयो । सर्केगाड गाउँपालिकाले अन्तरपालिकाबाट भित्रिने मुख्य नाका तुम्चामा हेल्ड डेस्क स्थापना गरी स्वास्थ्यकर्मी खटाएको बताएको छ । दैनिक आवतजावत गर्ने नागरिकको जाँचविना प्रवेश गर्न नदिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताउनुभयो । “कोरोना सङ्क्रमण रोकथामको पूर्वतयारी गरेर प्रत्येक वडामा पाँच÷पाँच र गाउँपालिका कार्यालयमा १५ श्ययाको श्यया बनाउँदैछौँ”, अध्यक्ष रोकायाले भन्नुभयो, “सबै वडा समेटिने गरी सर्केगाडमा आइसोलेशनमा निर्माण गर्दैछौँ ।”

सर्केगाडमा कोरोना सङ्क्रमितका बिरामी नभए पनि पछिल्लो भयावहको अवस्थालाई दृष्टिगत गर्दै आइसोलेशनको तयारी गर्न थालिएको उहाँको भनाइ छ । अदानचुली गाउँपालिकाले भिइघाट र इप्ला भन्ने स्थानमा गाउँपालिकाले स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ भने बाहिरबाट आउनेलाई आइसोलेशनमा राख्ने काम गरेको जनाइएको छ ।

तिला गाउँपालिका जुम्लाले गाउँपालिकाका तीन ठाउँमा हेल्थ डेस्क स्थापना गरी जो कोहीलाई जाँच कार्डविना प्रवेश गर्न दिएको छैन । गाउँपालिका अध्यक्ष रतननाथ योगीले सांसद गजेन्द्रबहादुर महतले उपलब्ध गरेको रु १० लाख बजेट कोभिडका बिरामी बोक्न खर्च गर्ने र गाउँपालिकाको गाडी समेतले एम्बुलेन्स सेवा दिने बताउनुभयो । गाउँपालिकामा पाँच आइसोलेशन श्यया तयार गरिएको जनाउँदै अध्यक्ष योगीले सङ्क्रमितबारे जानकारी दिन प्रत्येक वडामा निगरानी समिति गठन गरिएको सुनाउनुभयो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले छिप्रा स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन तयारी अवस्थामा राखिएको बताउनुभयो । गाउँपालिकामा त्यस्तो कुनै दिन भयावहको अवस्था सृजना भएमा श्यया थप्ने र नागरिकलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको उहाँले जनाउनुभयो ।

यस्तै हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । प्रत्येक डेस्कमा एक÷एक स्वास्थ्यकर्मी रहने गरी सोमबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिनुभयो । हेप्का, खोला, केर्मी र खगालगाउँ जाने बाटोमा हेल्थ डेस्क स्थापना गरिएको र स्वास्थ्यकर्मीलाई ड्युटीमा खटिन निर्देशनसमेत दिइसकेको उहाँले बताउनुभयो ।

“हामीले कोरोना सङ्क्रमणको दोस्रो लहर चलेको समयमा कोभिड डाक्टर नियुक्त गरेका छौँ”, अधिकृत न्यौपानेले भन्नुभयो, “यसले कोरोना सङ्क्रमितको उपचारका लागि सहजता ल्याउने छ ।” जिल्लाका सात स्थानीय तहमध्ये नाम्खा गाउँपालिका चिकित्सक नियुक्त गर्ने पहिलो गाउँपालिका बनेको छ ।

गाउँपालिकासँग कोभिडका लागि बजेटको व्यवस्था भएको र यस विषम परिस्थितिमा चिकित्सक नियुक्त गर्नु उपयुक्त देखिएको हुँदा नयाँ नियुक्ति गरिएको जनाउँदै उहाँले पालिकाको केन्द्र याल्वाङमा रहेको सामुदायिक भवनमा आइसोलेशन श्यया बनाउने तयारी भइरहेको बताउनुभयो । जिल्ला अस्पतालमा आठ र नाम्खा गाउँपालिकामा एक गरी हुम्लामा नौ चिकित्सक रहेका छन् ।

जिल्ला सदरमुकामको सिमकोट गाउँपालिकाले गत वर्षका ११ आइसोलेशन श्ययालाई सञ्चालनमा ल्याएको छ । केही दिनअगाडि मात्रै जिल्ला भित्रिएकालाई विमानस्थलमा एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो ।

सिमकोट विमानस्थलमा रहेको हवाई मार्गका लागि गत वर्षदेखि सञ्चालनमा आएको एक मात्रै हेल्थ डेस्क सञ्चालनमा आएको र अन्य क्षेत्रमा स्थापना भएका हेल्थ डेस्क प्रयोगविहिन भएका छन् । गाउँपालिकाले परीक्षणको दायरालाई बढाउन यसअघि नै ५०० एन्टिजेन किट खरीद प्रक्रिया अघि बढाइसकेको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेम सिंहले २५ आइसोलेशन श्यया तयारी अवस्थामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण तीव्र फैलावटलाई ध्यानमा राखेर १५ श्यया थप्ने तयारी गर्दैछौँ, जिल्ला अस्पतालमा तीनवटा ६० युनिटका अक्सिजन रहेका र दुईवटा ४० युनिटका अक्सिजन थप्न माग गरेका छौँ ।”

कार्यालय प्रमुख सिंहका अनुसार स्वास्थ्य सेवा कार्यालयमा एक हजार २०० भिटियम रहेकामा केही भिटियम परीक्षणका लागि सञ्चालनमा ल्याइएको र ६०० एन्टिजेन उपलब्ध छन् । हुम्लामा कोरोना सङ्क्रमण देखिएपछि परीक्षणको दायरालाई बढाउन अबको एक दुई दिनमा स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाइने भएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा हुम्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र अन्य तीनवटा पैदल मार्गका नाकामा कडाइका साथ निगरानी बढाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तुलनात्मक रुपमा अन्य जिल्लाभन्दा हुम्ला सामान्य रहे पनि ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । “आन्तरिक उडान चालु हुँदा सङ्क्रमण भित्रियो, पछिल्लो कोरोना परीक्षण गर्दा अहिले १५ जनामा सङ्क्रमण देखियो”, प्रजिअ आचार्यले भन्नुभयो, “आइसोलेशनमा राखिएका उनीहरुको अवस्था हालसम्म सामान्य छ, जिल्ला अस्पतालमा अक्सिजनसहितका तीन श्यया मात्र छन् ।”

काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, मुगु हुँदै हुम्ला प्रवेश गर्ने क्रमले अवस्था अलि डरलाग्दो बनेको उहाँले बताउनुभयो । यस विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट सबै पालिकालाई कोरोना परीक्षण, अक्सिजनसहितको १०–१५ श्यया बनाउन अनुरोध गरिएको उहाँले जनाउनुभयो ।

हुम्ला प्रशासनले कोरोना सङ्क्रमण फैलन नदिन अत्यावश्यक सेवा र कार्यबाहेक अन्य कुनै पनि गतिविधि तथा क्रियाकलाप सञ्चालन नगर्ने गरी यही वैशाख २८ गते राति १२ः०० बजेदेखि आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा थप गरेको छ । अहिले कार्गो उडानबाहेक अन्य उडान पूर्णरुपले बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस