केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त, आज सपथ लिदै (विज्ञप्तिसहित)

केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त, आज सपथ लिदै (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी हुनुभएको थियो ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।

 

प्रधानमन्त्रीका लागि भएन दावी पेश: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आफ्नो दावी पेश गर्न यही वैशाख २७ गते आह्वान गरिएको थियो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेपछि राष्ट्रपतिबाट सो आह्वान गरिएको थियो ।